युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भने मोहम्मद अल–मुल्ला पुरुष छन् ।

सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन् ।

युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ । यदि अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् ।

यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बताएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।

सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार