नेता बास्तोला भन्छन्- माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल भएको छैन

चुनावमा पराजय हुने डरले प्रचण्डले एकताको कुरा गरेको भनाई

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका हुन् । माओवादीको अबको चुनाव बिग्रने र प्रचण्डले पनि एक्लै चुनाव नजित्ने उनले बताए ।

बास्तोलाले वैज्ञानिक समाजवादमा जानका लागि मात्र नेपालमा बृहत् कम्युनिष्ट एकता हुनसक्ने तर्क गरे । त्यस्तै उनले न्यायालयमा देखिएको दृश्यले दुखित तुल्याएको भन्दै न्यायालयमा देखिएको घटना दलाल पूजिवादी व्यवस्थाको उपज भएको जिकिर गरे । उनले आफूहरूले वर्तमान संसदीय व्यवस्था परिवर्तनका लागि जनमत सङ्ग्रहको चुनाव गर्नुपर्ने भन्दै जनमत बिनाको चुनावमा सहभागी हुन नसक्ने बताए ।

त्यस्तै बास्तोलाले जनतालाई मारमा पर्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको बताए । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सबै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनले बताए । उनले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै बढी भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाए ।

उनले आफुहरुको अबको आन्दोलन शान्तिपूणरुपमा गर्ने बताएका छन् । नेता बास्तोलाले सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको गुनासो समेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार