‘मिथिला माध्यमिक डोला’ को बढ्दो धार्मिक महिमा

धार्मिक, सांस्कृतिक र एतिहासिक पहिचान बोकेको ‘मिथिला माध्यमिक डोला’ परिक्रमामा श्रद्धालुको व्यापक सहभागिताले यसको धार्मिक महत्वलाई अझ बढाएको प्रष्ट हुन्छ । नेपाल–भारतको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस मिथिला माध्यमिक डोला परिक्रममा दुवै मुलुकका साधुसन्तहरु पनि सहभागी भएका छन् ।

गत शनिबार अर्थात फागुनको औंशी तिथिमा धनुषाको ठेराकचुरीस्थित मन्दिरबाट विधिवत् रुपमा शुरु भएको यो धार्मिक यात्रा फागुन पूर्णिमाको दिन जनकपुरको अन्तरगृह पञ्चकोशीको परिक्रमा गरी विधिवत् सम्पन्न हुनेछ । कचुरीमठबाट मिथिला बिहारी अर्थात् भगवान राम र जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात माता सीताको डोला गरी प्रमुख डोलाको नेतृत्वमा विभिन्न मठमन्दिरबाट निस्केका डोला सहभागी भएर विधिवत् रुपमा शुरु भएको थियो ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दिदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा विधिवत् रुपमा शुरु भएको हो । रत्नसागरका मठका महन्थ स्व नारायण दासले परिक्रमाको शुभारम्भ गर्नुभएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । यस परिक्रमाअन्तर्गत धनुषा र महोत्तरी जिल्लाको १३ र भारत विहारको दुई गरी १५ वटा एतिहासिक धार्मिकस्थलमा पुग्ने विश्राम गर्छन् । सो अवधिमा डोलाले नेपालको १०७ किलोमिटर र भारत विहारको २६ किलोमिटर गरी १३३ किलोमिटरको दूरी गर्छ ।

सो माध्यमिकी परिक्रमाका सहभागीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थान र महोत्तरीको मटिहानी गरी पहिलो, दोस्रो, तेस्रो र चौंथो दिन दिनको रात्रि विश्राम गरिसकेका छन् ।

डोलासँग बाजागाजाका साथ भजनर्कीतन गर्दै हजारौंको सङ्ख्यामा साधु सन्त, महिला र पुरुष, युवा परिक्रमा सहभागी भएका छन् । लगातार १५ दिनसम्म डोलासँग परिक्रमामा सहभागीले नियम निष्ठालाई पालना गर्ने गर्छन् । डोला परिक्रमाको मार्गमा सहभागी भएका श्रद्धालु भक्तजनका लागि स्थानमा स्थानीय पानीका साथै भोजनको समेत व्यवस्था गरेको हुन्छ । कुनै प्रकारको कठिनाइ नहोस् भन्ने भावनाका साथ स्थानीयवासी सचेत भएर सेवामा समर्पित रहन्छन् ।

परिक्रमा अवधिमा विश्रामस्थलको विशेष धार्मिक महत्व रहेको छ । सो क्रममा पहिलो दिन जनकपुरको हनुमानगर पुगेर विश्राम गरी डोला दोस्रो दिन विहारको कलनास्थित कल्याणेश्वर मन्दिर र तेस्रो दिन डोला विहारको फूलहरस्थित गिरिजास्थानमा पुगेर विश्राम गर्छ । गिरिजा मन्दिर अर्थात पार्वतीको मन्दिर भएको कारणले सो स्थानलाई गिरिजा स्थान भनिएको हो ।

माता सीता प्रत्येक दिन सो मन्दिरमा पुगेर पार्वतीको पुजा गर्नुहुन्थ्यो भन्ने धार्मिक विश्वास रहेको छ । धनुष यज्ञको समयमा भगवान राम जनकपुर आउनु भएपछि सोही स्थानमा सीतासँग पहिलो भेटघाट भएको रामायणमा उल्लेख गरिएको छ । त्यहाँबाट डोला प्रस्थान गरेपछि परिक्रमाको क्रममा चौथो दिन महोत्तरी जिल्लाको मटिहानी पुग्छ ।

ग्रामीण क्षेत्रको रुपमा रहेको मटिहानीमा लक्ष्मीनारायणको ऐतिहासिक मन्दिरका साथै एक दर्जन मन्दिर र पोखरी छन् । मटिहानीबाट डोला पाँचौं दिन महोत्तरीको सदरमुकाम जलेश्वर पुगेपछि जलेश्वरनाथ महादेवको श्रद्धालु दर्शन गर्छन् । सो जलेश्वरनाथको शिवलिङ्ग सधैंँ जलमै डुबेको हुन्छ ।

छैठौं दिन डोला मडई पु¥याइन्छ । मुनेश्वरनाथ महादेवको नामले परिचित सो मडइमा महादेवको मन्दिर र पोखरी छन् । यसैगरी सातौं दिन डोला ध्रुवकुण्डमा पुग्¥याइनछ । त्यहाँ ध्रुवमन्दिर छ । आठौं दिन कञ्चनवनमा डोला पुग्छन् । त्यहाँ सीतारामको मन्दिर छ ।

यस्तै नवौं दिनमा हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेवको पूजापाठ गरेपछि डोला पर्वता पुग्छन् । सो स्थानमा हनुमानजीको विशाल मन्दिर छ । नवौं दिनको विश्राम पर्वतामा गरेपछि १० औँ दिनमा डोलासहितको श्रद्धालु एतिहासिकस्थल धनुषाधाम पुग्छन् । सीता स्वयंवरको समयमा भगवानले तोड्नु भएको शिवधनुषको एक टुक्रा सो स्थानमा खसेको विश्वास गरिन्छ ।

एघारौँ दिनमा डोला सतोषरस्थित राममन्दिर पुग्छन् भने १२औँ दिन डोला औंरही पुग्छन् । धनुषाको वैदेहीनजिक रहेको औंरहीमा डोलासँग सहभागी श्रद्धालु, भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरमा दर्शन गर्छन् । तेह्रौँ दिन विहारको विसौंल र चौंधो दिन करुणा भन्ने स्थलमा आइपुग्छन् ।

परिक्रमाको अन्तिम दिन १५ औँ दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट उल्लासमय वातावरणमा होली पर्व मनाइन्छ ।

Loading...