प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक्न आइतबार पनि धर्ना दिने बारको घोषणा

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा धर्ना दिने जनाएको छ । शुक्रबार सर्वोच्चमा धर्ना दिएपछि बारमा आयोजित सभामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि सर्वोच्चमा धर्ना दिने र सोमबार तथा मङ्गलवार विरोध प्रदर्शन गर्ने जानकारी दिए । उनले प्रधानन्यायाधीश राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनले सर्वोच्चले प्रहरी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उल्लेख गरे । श्रेष्ठले आइतबार नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।
त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भ्रष्ट प्रधानन्यायाधीशको विषयमा राजनीतिक दलहरूले बोल्ने समयमा आएको बताउनुभयो । प्रधानन्यायधिशले कुर्सी नछाडे कार्यकालभरि आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । उनले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम प्रधानन्यायाधीश गरेको टिप्पणी गरे । थापाले प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोखिन सुझाव दिएका छन् ।
यस्तै प्रदर्शनकाबीच शुक्रबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएका थिए । बारको नेतृत्वमा सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला उनी फरक गेट प्रयोग गरेर सर्वोच्च पुगेका हुन् । जबरा महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार