जलवायु सहकार्य सशक्त बनाउन चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति

चीन र अमेरिकाले जलवायु सहकार्यलाई सशक्त बनाउन आश्चर्यजनक सहमति जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन– कोप २६ को अवसरमा यी दुई देशले आगामी दशक जलवायु सहकार्यलाई थप सशक्त  बनाउने प्रतिबद्धता जनाएका हुन् ।

जलवायु परिवर्तनका नकरात्मक असरलाई न्यून गर्ने बाचासहित दुबै देशहरुले एउटा संयुक्त घोषणा सार्वजनिक गरेका छन् । दुई देशको पछिल्लो कदमलाई एउटा ‘दुर्लभ  घटना’ को संज्ञा दिइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्व तापमान १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता जनाउदै सहकार्य गर्ने दुबै देशले जनाएका छन् ।

लक्ष्य प्राप्तिका लागि देखिएको खाडल पुर्नसमेत दुबै देशहरुले आह्वान गरेका छन् । विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असरबाट जोगिन सकिने वैज्ञानिकहरुले बताउँदै आएका छन् । सन् २०१५ मा सम्पन्न पेरिस सम्झौतामा अधिकांश देशले सन् २०५० सम्ममा विश्वको तापलाई १ दशमलब ५ डिग्री सेल्सियस तापक्रममा सीमित पारेर कार्बन उत्सर्जन कटौतीमा योगदान दिने बताएका थिए ।

जारी सम्मेलनमा चीनका प्रतिनिधि तथा प्रमुख वार्ताकार साई जेनहुवाले जलवायु परिवर्तनका विषयमा चीन र अमेरिकाबीच धेरै पटक वार्ता भएको जानाकारी दिए ।  संयुक्त कदमका लागि दुई देशले पछिल्लो १० महिनामा ३० भन्दाबढी भर्चुअल बैठक आयोजना गरेको उनले बताए ।

मिथेनलगायत काबर्नयुक्त ग्यास उत्सर्जनमा कमी गर्न दुई देशबीच विभिन्न विषयमा सहमति भएको उनले बताए ।

कार्बन उत्सजर्नको मुख्य कारक मानिएको मिथेन सिमित गर्न यसै साता गरिएको सम्झौतामा सहभागी हुन चीनले अस्वीकार गरेको थियो । सम्झौतामा करिव १०० देशले हस्ताक्षर गरेका थिए । सम्झौताबाट भारत पनि पन्छिएको थियो । मिथेन समस्या समाधान गर्न चीनले राष्ट्रिय योजना विकास गर्ने थप प्रतिबद्धता जनाएको छ ।

अमेरिकी प्रतिनिधि जोन केरीले जलवायु परिवर्तनसम्बन्धी सहकार्यका विषयमा अमेरिका र चीनबीच कुनै मतदभेद नभएको बताए । हरेक कदम अर्थपूर्ण हुने र दुबै देश जलवायु परिवर्तनलाई न्यून गर्ने लामो यात्रामा सहकार्य गरेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार