दोर्दी-१ निर्माणकाे काम अन्तिम चरणमा, तीन महिनामा विद्युत उत्पादन गर्ने

लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगे पनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलिङ बेसिनमा क्षति पुगेको कम्पनीले जनाएको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको आयोजना प्रबन्धक उज्ज्वल सिलवालले बताए । उनका अनुसार विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ ।

विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो । तर, गत असारमा आएको बाढी पसेर मेसिन हल नै डुबानमा परेको थियो । अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर कोरोना र बाढीका कारण निर्माण अवधि पछाडि धकेलिएको छ । अब आयोजनाको सबै काम पूरा गरेर पुसभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाको ७ सय ३५ मिटर पेनस्टक पाइपमध्ये २५ मिटर पाइप जडान हुन बाँकी रहेको प्रमुख सिलवालले बताए ।

प्रमुख सिलवालले भने आयोजना आफैले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण पनि गरी सकेको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैङ्कको अगुवाइमा ५ बैङ्कले ऋण लगानी गरेका छन् ।

Loading...