एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय

महाधिवेशन काठमाडौंमा, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मङ्गलवार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको हो ।

यसअघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफु र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेको अभिव्यक्ति दिएपछि तर्क वितर्क हुँदै आएको थियो । एमसीसीमा रहेका केही विषयमा आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभई अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताएका छन् ।

त्यस्तै माओवादीले न्यायालयमा भइरहेको आन्दोलनका विषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायालयले नै टुङ्गाउनुपर्ने महराले बताए । त्यस्तै माओवादीले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । बैठकले पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए ।

बैठकले माओवादीको प्रदेश पदाधिकारी टुङ्गाउने विषयमा छलफल भएको र प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरूसँग अध्यक्ष प्रचण्डले परामर्श गरेर टुङ्गाउने निर्णय गरेको छ ।

Loading...