हिमानीको प्रमुख आतिथ्यतामा छठमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगन्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

२०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चार वटा संस्थाहरू आबद्ध भएको संयुक्त केन्द्रीय समितिले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरूमा, पर्सा (वीरगन्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरूमा र बाराको बहुअरी पोखरी–५ मा पुष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो । नेपाल नागरिक अभियानका संयोजक डा. ठाकुर मोहन श्रेष्ठले पूर्व युवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम छठ कार्यक्रम गरिने बताए । उनले सूर्यको ताप र ज्योति हरेक अङ्गमा प्रतितापन भन्दै जिउँदै देखिने भगवान् भनेकै सूर्यनाथ भएको जिकिर गरे ।

विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले कार्यक्रममा राष्ट्र र आम नागरिकको शान्ति, अमन चयनको लागि प्रकृति सुहाउँदो राजासहितको राजसंस्थाको माग गरे । नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमा मात्र सीमित भएको छठ पर्व सबैतिर पुर्याउनुपर्नेमा जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार