मिथिलामा छठकै बीच प्रेम र समर्पणको अर्को पर्व ‘सामा’ सुरु

मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन नै ‘सामाचकेवा’ आज सुरु भएको हो । महोत्तरीसहितका मिथिला क्षेत्रमा बोलीचालीमा ‘सामा’ भनिने रमाइलो खेलको यो पर्व कात्तिक पूर्णिमासम्म मनाइन्छ ।

दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्नेछन् । आज (कात्तिक शुक्ल पञ्चमी) को दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा कान्लाबाट दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चकेवा (माटाका मूर्ति, आकृति) बनाएका छन् ।

सामा–चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी बनाइने छ । रङ्ग्याइएका आकृति रातको समयमा रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामा खेल्ने मैथिल परम्परा छ । दिदीबहिनीले गाउने सामा गीतमा आफ्ना दाजुभाइको सौर्य बखान र दीर्घायुको कामना हुन्छ ।

मिथिलाञ्चलमा यो पर्व दिदीबहिनीले माइतीमा मनाउने रहर राख्छन् । यद्यपि विवाहित चेली माइत पुग्ने अनुकूलता नभए आफ्नै ठाउँमा मनाउन सक्ने परम्परा छ । मिथिलाका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएको सामा–चकेवा पर्व निकै महत्वपूर्ण मानिन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग पर्व मनाउने गर्छन् । सामा खेल्नाले दाजुभाइ दीर्घजीवी र बहादुर हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध मधुर र प्रगाढ हुने जनविश्वास छ ।

मध्यरातसम्मको चकमन्न समयमा नगर⁄गाउँ बस्तीको चौबाटोमा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन् । “कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियौ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छौ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छन् ।) दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरु खुशीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाहिँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउँछन् ।

“चलु बहिना सामा खेल भैयाके आँगन हे..जुग जुग जियथिन भैया अपन हे…’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।)

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ । “चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु” आफ्ना दिदीबहिनी नभएका बर्दिवास–९ पशुपतिनगरका ३२ वर्षीय किशोर महतो भन्छन्, “के गरौँ…? आफ्ना दिदीबहिनी भएनन् । यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको छौँ ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरौटे, झगडा लगाउने), वृन्दावन, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट सामाका आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणावापत दिने चलन छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापरयुगबाट सुुुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला) ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवा (चक्रधर) को मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा–चकेवा पर्वको परम्परा बसेको महोत्तरीको मटिहानीस्स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

मिथिलामा दाजुभाइरदिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामा–चकेवा पर्व परम्परा रहेका छन् । भैयादुज कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन् । त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी) बाँधी दिएर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्छन् । अनि कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामा–चकेवा मनाइन्छ । भैयादुज र राखी पर्व सत्ययुगमा राजा बलिका बहिनीहरु गङ्गा र यमुनाले सुरु गरेका र सामा भने द्वापरयुगमा श्रीकृष्ण पुत्री सामाले दाजुप्रति कृतज्ञता जनाउन गरेकी सम्झनाको निरन्तरता भएको मैथिल जनविश्वास छ ।

Loading...