हाम्रो प्रतिष्पर्धा कसैसँग छैन, ग्राहकप्रति उत्तरदायी हुँदै आफैसँग प्रतिष्पर्धा गर्छौ : अधिकारी

१९ वर्षअघि  सातौँ तहको इन्जिनियरका रूपमा प्रवेश गरेका डिल्लीराम अधिकारी अहिले नेपाल टेलिकमको एमडीको रूपमा नेतृत्वमा छन् । अधिकारी सेवामा प्रवेश गर्दा नेपाली बजारको नेपाल टेलिकमको बजार एकाधिकार जस्तै थियो । अहिले अवस्था बदलिएको छ । बजारमा प्रतिष्पर्धीहरुले आक्रामक बजार बिस्तार गर्दै छन् ।  हजारौँ चुनौतीकाबिच अधिकारीले  नेतृत्व गरेपछिका दुई वर्षमा पूर्वाधार विकास, सेवा बिस्तार, गुणस्तर सुधार,नयाँ क्षेत्रको लगानी र नीतिगत सुधारका क्षेत्रमा  उल्लेख्य काम भएका छन् ।  यद्यपि नेपाल टेलिकमको सेवाप्रति ग्राहकका गुनासा अझै सकिएका छैनन् ।  संस्थाको सेवा प्रवाह, सुशासन र प्राथमिकताप्राप्त आयोजनाका क्षेत्रमा  प्रगति देखिए पनि ग्राहकको मागबमोजिम सेवाहरू कनेक्टिभिटी र नेटवर्किङ तथा नयाँ प्रविधिमा  सुरु भएका कामबाट परिणाम आइसकेको छैन । पूर्वाधारमा लगानी, जिएसएम लाइसेन्सबापतको दायित्व,कर्पोरेट ट्याक्सको भ्यालु र कोभिड १९ का कारण अन्तर्राष्ट्रिय आय बापतको आम्दानी घट्दा यसको प्रभाव खुद मुनाफामा परेको छ । नेपाल टेलिकमका यिनै समस्याहरूको सन्दर्भमा टिभी अन्नपूर्णले प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग गरेको कुराकानी :

नेपाल टेलिकमको अहिलेको अवस्था कस्तो छ ? 

नेपाल टेलिकमको नेटवर्कको पहुँच देशका सबै जिल्लाका ६ सय ९३ स्थानीय तहमा पुगेको छ । यस्तै एफटिटिच सेवा ६० जिल्लामा वितरण भइसकेको छ । उच्च गतिको इन्टरनेट सेवा वायरलेसमा फोरजी सेवा देशैभर विस्तार भइसकेका छन् । अहिले हाम्रा ग्राहक २ करोडभन्दा बढी छन् । फोरजीका मात्रै ग्राहक ५० लाख बढी छन् । यस्तै फाइबर इन्टरनेटका ग्राहक २ लाख बढी पुगेका छन् । अहिले डेटा सेवा र भ्वाइस सेवामा धेरै सेवा बिस्तार गरेका छौं । योसँगै सेवालाई सस्तो बनाउने योजना अनुसार पहिले भन्दा निक्कै सस्तो प्याकेजहरू ग्राहकलाई दिएका छौ । पछिल्लो समय सक्रिय ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसले गर्दा सञ्चालन आय कोर विजनेशमा पनि उल्लेख्य वृद्धि भएको तथ्याङ्क छ ।

यहाँले नेपाल टेलिकमको नेतृत्व लिएपछि भएका खास कामहरू के हुन ?

मैले नेतृत्व गर्नु पहिलेको अवस्थालाई हेर्ने हो भने नेपाल टेलिकम प्रोजेक्ट होलिडेको अवस्थामा थियो । म आएपछि ती आयोजनाहरू अघि बढे । हामीले खासगरि ४ वटा क्षेत्रलाई लक्षित गरेका छौँ । पहिलो पूर्वाधार विकास त्यसमा अप्टिकल फाइबर सुपर हाइवे भन्छौ । त्यो १ हजार किलोमिटर बढी बिस्तार भइसकेको छ । बाँकी काम पाईपलाईनमा छ । जुन छिट्टै सम्पन्न हुनेछ । त्यस्तै मोबाइलका टावरहरू १ हजार बढी ग्राउन्ड बेस टावरहरू बनेका छन् । जुन निक्कै दुर्गम , हेलिकप्टरबाट सामान ढुवानी गर्नुपर्ने अवस्था थियो । त्यहाँ टावरसँगै त्यसलाई आवश्यक पर्ने सोलार पावर सिस्टमहरू विकास गरिसकेका छौँ । अर्को ब्याकबोन नेटवर्कहरू टेनजी क्षमतामा थिए, अहिले त्यसलाई हण्डे«डजी क्षमतामा स्तर उन्नति गरेका छौं । अर्को सेवा बिस्तारमा देशभर फोरजी नेटवर्क बिस्तार गरेका छौं । करिब ९२ प्रतिशत स्थानीय तहमा यो सेवा पुगेपछि ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जहाँ टुजी थ्रिजीको पनि सेवा थिएन त्यस्ता ठाउँमा पनि माइक्रोवेभ होस् वा भिस्याटमार्फत फोरजीसहितको गुणस्तरीय सेवा बिस्तार गरेका छौं । अर्को एफटिटिएच र आइपीटिभी टिभी सेवा ग्राहकलाई दिएका छौं । म प्रबन्ध निर्देशक हुँदा हामीसँग मात्रै १२ सय एफटिटिएच सेवा मात्रै थियो । अहिले हामी करिब २ लाख एफटिटिएच लाइन बिस्तार गरेका छौ । १२ लाख घरधुरीमा डिजिटल म्यापिङ भइसकेको छ । ६ लाख ग्राहकलाई वितरण गर्ने गरि नेटवर्क बिस्तार गरेका छौं । यसलाई अझै द्रुत गतिमा बिस्तारका लागि आम ग्राहकलाई आकर्षित गर्न महसुलमा व्यापक छुटसहित एफटिटिएच सेवामै टेलिफोन र आइपीटिभीको सुविधा छ ।

त्यस्तै गुणस्तर सुधारमा मेरो फोकस थियो । यसमा ट्रान्समिसन नेटवर्कको स्तर उन्नति र बिस्तारका साथै यसको अप्टिमाईजेसन , अर्को रेडियो नेटवर्कको अप्टिमाईजेसनमार्फत नेटवर्क कभरेज नभएको स्थानमा बढाउने काम भएको छ । पावर टियुनिङ नभएका स्थानमा बढाउने काम भएको छ । पावर सिस्टमको अप्टिमाईजेसन र भएका स्थानमा एडिसनको काम गरेका छौं । तेस्रो नयाँ क्षेत्रमा पनि हामीले लगानी गरेका छौ । जस्तै नेपाल स्टक डिलर कम्पनी, नागरिक लगानी कोष, पुर्नबिमा कम्पनी । क्यासलेस सोसाइटी निर्माण गर्नुपर्छ भन्ने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैकसँग मिलेर नेपाल टेलिकमको सब्सिडारी कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्ट कम्पनीमार्फत काम अघि बढाएका छौं । यसलाई अब छिट्टै देशव्यापी बनाएर लैजाने तयारी छ । यी पूर्वाधार व्यवस्था, गुणस्तर सुधार, सेवा बिस्तार र नयाँ क्षेत्रको लगानी हो ।

यसबाहेक मैले प्रबन्ध निर्देशकको जिम्मेवारी लिएपछि नीतिगत व्यवस्थामा पनि व्यापक कामहरू भएका छन् । जिएसएम लाइसेन्समा कम्पनीले पहिला भुक्तानी नगरेको तर पछि नियामक निकायले यसको भुक्तानी गर्नुपर्छ भनेपछि हामीले त्यसको भुक्तानी गरेका थियौँ । पछाडि भुक्तानी गर्दा यसको खर्च लेखाङकनको सुविधा पाएको थिएन । यसमा सरोकारवाला मन्त्रालयसँगको समन्वयमा खर्च लेखाङकनको सुविधा दिने निर्णय भएपछि यसले कम्पनीलाई ठुलो आम्दानीको सुनिश्चितता भएको छ । त्यस्तै कर्मचारी विनियम लोकसेवा आयोगको परामर्शमा सार्वजनिक संस्थाले लागु गर्नुपर्ने भन्ने थियो । तर यो हुन सकेको थिएन अहिले हामीले लोकसेवा आयोगसँगको परामर्शमा यसलाई लागु गराएका छौं । धेरै लामो समयसम्म विज्ञापन भएको थिएन , यसलाई अघि बढाउँदै कर्मचारीको बृृतिविकास सुनिश्चितता गर्नेगरि काम थालेका छौैं । त्यस्तै कम्पनीको पूर्नसंरचनामा दरबन्दीगतरुपमा व्यवस्था र कम्पनीलाई प्रदेशगत संरचनामा लैजाने काम पनि अघि बढेको छ । यसरी नीतिगत रूपमा पनि धेरै कामहरू भएका छन् । जुन निक्कै महत्त्वपूर्ण र कम्पनीलाई दीर्घकालीन रूपमा मुनाफामा अघि बढाउन सकिने आधार तयार भएको छ ।

कम्पनीको खुद मुनाफा पछिल्लो समय घटेको तथ्याङ्कले देखाएको छ । यसको कारण के हो ?

हो,यो बारम्बार सोधिने प्रश्न हो । यसमा बुझ्नुपर्ने कुरा यो छ की । त्यति बेला १७ अर्ब हाराहारी मुनाफा देखिएको थियो । जुन बेला हामीले जिएसएम लाइसेन्सको अनुमतिमा पैसा तिर्नुपर्ने थिएन । तर अहिले त्यसैको २० अर्बमध्ये वार्षिक ४ अर्बका दरले तिर्नुपरेको छ । त्यति बेला कर्पोरेट ट्याक्सको भ्यालु पनि २५ प्रतिशत थियो अहिले ३० प्रतिशत हुँदा १ अर्ब थप आर्थिक दायित्व बढ्यो । यस आधारमा हरेक वर्ष ५ अर्बका दरले आर्थिक दायित्व बढेकाले पहिले नाफामा देखिएको सोही रकम अहिले घटेको जस्तो देखिएको हो । यसबाहेक कोभिड १९ को प्रभावले अन्तर्राष्ट्रिय रोमिङबापत हुने आम्दानी घट्न गएको छ । यसबाहेक हामीले पछिल्लो समय ठुलो लगानी गरेका छौं । फोरजी एफटिटिएच र मोबाइलमा भएको लगानीले अब बल्ल प्रोफिट दिने बेला भएको छ । यसमा बुझ्नुपर्ने कुरा यो छ की मैले अघि उल्लेख गरे जिएसएमको लाइसेन्सबापतको २० अर्ब जुन वार्षिक रूपमा ४ अर्बका दरले तिर्नुपरिरहेको छ सोही रकमका कारण मुनाफा कम देखिएको हो ।

कोभिड १९ को महामारीले धेरै क्षेत्रहरू प्रभावित भए तर सूचना प्रविधिका क्षेत्रमा यो अवसरका रूपमा पनि देखियो भन्छन् । नेपाल टेलिकमको सवालमा के हो अवस्था ?

विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ ले नेपाल टेलिकम पनि प्रभावित भएकै हो । जति पनि सेवा बिस्तार वा पूर्वाधार निर्माणका लागि विदेशबाट सामानहरू आयात गर्नुपर्ने हुन्छ । त्यसमा कोभिडको प्रभाव परेका कारण कतिपय आयोजना समयमै सम्पन्न गर्न सकिएन । अर्को अन्तर्राष्ट्रिय आयमा पनि यसले प्रभाव पारेको छ । यद्यपि हामीले पनि यसलाई अवसरकै रूपमा लिएर अघि बढेका थियौँ । यसअघि नेपाल टेलिकमको एफटिटिएच र फोरजीप्रति थोरैमात्रै आकर्षित थिए । तर, कोभिड १९ का कारण लकडाउन भयो । मानिसहरू घरमै बस्नुपर्ने तथा विद्यार्थीहरू अनलाइन कक्षा बस्नुपर्ने भएपछि नेपाल टेलिकमले प्रदान गर्ने इन्टरनेटका ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसआधारमा हेर्ने हो भने नेपाल टेलिकमले पनि यसलाई अवसरकै रूपमा लिएको अवश्य हो ।

तपाईँले नेतृत्व गर्दा निश्चित कार्ययोजना बनाउनुभएको थियो होला, ती कति पुरा भए कति बाँकी छन्  ?

मैले नेतृत्व गरेपछि सुरु गरेको फोरजीको काम थियो । यो करिब करिब पुरा भइसकेको छ । फोरजी बिस्तारमा अब असाध्यै कम भन्दा पनि हुन्छ । करिब करिब १० प्रतिशत काम बाँकी छ । अर्को करिब २ हजार किलोमिटर अप्टिकल फाइबर सुपर हाइवेको काम तीव्र रूपमा अघि बढेको छ । यो काम कोभिड १९ का कारण र केही अन्तरनिकाय समन्वयमा देखिएको समस्याले अलिकति ढिलाइ भइरहेको थियो त्यो अहिले समाधान भईसकेकाकाले यो आर्थिक वर्षभित्र यो काम सकिन्छ । अर्को नीतिगत सुधारका लागि कम्पनीलाई खरिद ऐनले गरेको व्यवस्था अनुसार खरिद कार्यविधि स्वीकृत गराउनुपर्ने थियो । यसको काम अहिलेसम्म हुन सकेको छैन । यसबाहेक डिजिटल पेमेन्टमा अझै धेरै काम हुनुपर्ने थियो । कोभिड १९ का कारण यसमा अपेक्षित कारोबार हुन सकेको छैन । यद्यपि यो पनि अब तीव्र रूपमा अघि बढ्दैछ ।

सरकारी स्वामित्व रहेको अर्धसरकारी कम्पनी भएकाले विभागीय मन्त्री अदलबदल हुँदा यसको प्रभाव स्वभाविक रूपमा पर्छ होला । यहाँकै कार्यकालमा ४ जना मन्त्री फेरिनुभयो काम गर्न सजिलो अप्ठ्यारो केही भयो की  ?

हामी एउटा सरकारी अर्धस्वामित्व रहेको व्यवसायीक संस्था हो ।हामीले नेपाल सरकारका निर्दिष्ट नीतिलाई पालना गदै जनतालाई सुपथ मूल्यमा गुणस्तरीय सेवा दिने हो । देशको परिवर्तन र विकासको निम्ति साङ्गठनिक क्षमतालाई प्रयोग गरेर सरकारले निर्दिष्ट गरेको र कम्पनीको सञ्चालक समितिले पास गरेका अथवा भनौँ स्वीकृत गरेका कामलाई अघि बढाउने भएकाले सरकार परिवर्तन वा मन्त्री परिवर्तनले हामीलाई प्रभाव पर्दैन । हामीले आम उपभोक्ताको पक्षमा संस्थाको हित हुनेगरि सस्तो मूल्यमा गुणस्तरीय सेवा प्रदानको काम गर्दै अघि बढ्ने हो ।

यसबिचमा कर्मचारीबिच एक खालको असन्तुष्टि देखियो । जसका कारण पुरै कार्यालयका काम प्रभावित भए यसको कारण के थियो ? 

मैले यसअघि पनि भने २०७२ सालमा नेपालको संविधान जारी भएपछि लोकसेवा सम्बन्धी संवैधानिक व्यवस्थामा सरकारी तथा अर्धसरकारी सार्वजनिक संस्थाहरूले लोकसेवा आयोगको परामर्शमा कर्मचारी बिनियमावली लागु गर्नुपर्नेछ भन्ने व्यवस्था छ  । त्यही अन्र्तगत परामर्शका लागि पठाएको थियो । परामर्श भएर आएको विनियमावलीले कर्मचारीले उपयोग गरिरहेका सेवा सुविधामा अङ्कुश लगाएको थियो । यसले कर्मचारीका बिचमा असन्तुष्टि थियो । ती असन्तुष्टिका बुँदालाई सम्बोधनका लागि लोकसेवामा पठाएका छौं । हामीलाई विश्वास छ कर्मचारी साथीहरुको मागअनुसार यसमा संशोधन हुनेछ । यसमा यहाँको आन्तरिक व्यवस्थापनका कारण वा हाम्रो अधिकार क्षेत्रभित्रका कारण नभएर नितान्त संवैधानिक व्यवस्थाका कारण लोकसेवा आयोगको परामर्शमा भएको बिनियामावलीको व्यवस्थाप्रति कर्मचारी साथीहरूले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

नेपाल टेलिकमको सेवा प्रतिस्पर्धी  बजारमा अपेक्षित अघि बढ्न सकेन भन्ने आरोप छ । यहाँले यसलाई राष्ट्रको सञ्चारकै रूपमा अब्बल बनाउने सवालमा के गदै हुनुहुन्छ ? 

नेपाल टेलिकम निजी क्षेत्रका आईएसपी आइसकेपछि, प्रतिष्पर्धीहरु आइसकेपछि अपेक्षित फड्को मार्न सक्दैन भन्ने कुरा १८ वर्षअघिदेखि सुनिँदै आएको कुरा हो । तर,पनि यो राज्यको कम्पनी हो ।  जनताको कम्पनी हो । सरकारको कम्पनी भएको कारण आम ग्राहकबाट सोही खालको विश्वास र सरकारबाट त्यही खालको  सहयोग प्राप्त गदै जाँदा आम ग्राहकको विश्वास बढ्दो छ । नेपाल टेलिकमले नयाँ प्रविधिलाई तुरुन्तै ल्याउने र सोही रूपमा सेवा दिने काम गदै जाँदा अहिलेसम्म आफूलाई लिडिङ पोजिसनमा राखेको छ  । पछिल्लो समय जसरी पूर्वाधार विकास, सेवा बिस्तार , गुणस्तर सुधारमा आक्रामक रूपमा अघि बढेको छ । यसले अहिले सक्रिय ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसका सबै सूचकहरूलाई हेर्दा कम्पनी अहिले धेरै राम्रो अवस्थामा  छ । आगामी दिनमा ग्राहकलाई बढी अटोमेसनमा सेवा दिने, ग्राहकको समस्यालाई तत्काल सम्बोधन गर्ने  र नयाँ प्रविधिलाई ल्याउन अग्रसर हुनुपर्छ । जस्तै हामीले यही वर्ष फाईभ जी परीक्षणको योजना बनाएका छौ । बजारमा जब प्रतिस्पर्धी आउँछ तब टेलिकमले सेवामा थप प्रभावकारिता ल्याउँछ । सायद बजारमा प्रतिस्पर्धी नभएको भए यति छिटो फोरजी बिस्तारको कार्य नहुन पनि सक्थ्यो ।  साँच्चै भन्ने हो भने हाम्रो प्रतिष्पर्धा कसैसँग पनि छैन । हामी आफैसँग प्रतिष्पर्धा गछौं । हामी ग्राहकप्रति उत्तरदायी हुँदै हिजो भन्दा आज राम्रो गदै अघि बढ्ने हो ।

तपाई नेतृत्वमा आएपछि प्रत्यक्ष आफैले काम गर्दा अझै यसरी काम गरे कम्पनीलाई उचाइमा लैजान सकिन्छ भन्ने केही देख्नुभयो की ? 

कुनै पनि सरकारी कम्पनीले जनताको कोर भ्यालुलाई बिचार गरेर आफ्नो नीतिहरूलाई परिमार्जन गर्दै सेवालाई बढी ग्राहकमैत्री बनाउँदै  अगाडी बढ्दै जाँदा हामी  जहिले पनि सफल हुन्छौँ । त्यसको लागि प्रविधिको व्यवस्थापन,  जनशक्ति  व्यवस्थापन र दीर्घकालीन नीतिलाई  कार्यनीतिमा  कार्यमा परिवर्तन गर्दै अगाडी  जान सक्नुपर्छ । त्यसको लागि हामीले निर्णयहरू समयमै गर्नुपर्छ । समयमा निर्णय नगर्नु भनेको काम गर्न नसक्नु र कम्पनीलाई पछाडि धकेल्नु जस्तै हो । त्यसैले हरेक समय यो प्रतिस्पर्धी बजारका लागि महत्त्वपूर्ण हुन्छ । एउटा सार्वजनिक सेवा प्रवाह गर्ने कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा रहँदा ती समय र क्षणहरुहरुलाई सिर्जनात्मक बनाउनुपर्छ  खेर फाल्नुहुँदैन भन्ने मैले सिकेको छु ।

नेपाल टेलिकमलाई अब्बल राष्ट्रको सञ्चारको रूपमा कायम राख्दै अझै उचाइ दिन के गर्नुपर्छ  ?

खासगरी हामीले अब सेवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ । अहिले नयाँ प्रविधि आइओटी र एआई अर्थात् आर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गर्दै ग्राहक   सेवालाई स्वचालित प्रणालीमा लैजाँदा बढी प्रभावकारी हुन्छ । प्रविधिमा आएको विकाससँगै कर्मचारी साथीहरू पनि पहिला भन्दा धेरै प्रतिस्पर्धी भइसक्नु भएको छ । उहाँहरूलाई हामी ग्राहकका निम्ति थप जिम्मेवार हुनका प्रेरक प्रशिक्षण दिनुपर्ने हुन्छ । विश्वव्यापी रूपमा परिवर्तित भइराखेको प्रविधिलाई यथाशक्य छिटो ल्याएर गुणस्तरीय र सर्वसुलभ मूल्यमा ग्राहकलाई त्यो सेवा दिन सक्नुपर्छ । सबै क्षेत्र डिजिटलाईजेसन भइराखेको अवस्थामा हाम्रो सेवालाई आवश्यकताका सबै क्षेत्रमा सोहीअनुसार प्रवाह गर्ने सामर्थ्यको विकास  गर्नुपर्छ ।  यसरी अघि बढे  अब्बल र परिस्कृत रूपमा कम्पनी उत्कृष्ट सेवासहित अझै माथि पुग्न सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार