पुष्पलाल राजमार्गमा सडकको सीमा अझै निर्धारण हुन सकेन

राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी राजमार्ग) सम्पन्न गर्नुपर्ने अवधि दुई वर्ष मात्रै बाँकी हुँदा अझै सीमा निर्धारण हुन सकेको छैन । सामान्यतया राष्ट्रिय राजमार्ग भन्नाले चौडाइ २५/२५ मिटर बुझिए पनि यहाँको आवश्यकता र उपलब्धताका आधारमा राजमार्गको सीमा निर्धारण हुनुपर्नेमा त्यो हुन नसकेको हो । दुई लेन निर्माण गर्नका लागि पनि राजमार्गका लागि आवश्यक जग्गा उपलब्ध हुन नसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

राजमार्गकै रेखाङ्कनमा पर्ने वैदेशिक सहायताको सडकमा मुआब्जा वितरण गरिएको भए पनि आयोजनाले निर्माण गर्दा मुआब्जा दिन नसकिएको प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । एकै ठाउँमा पनि कुनै जग्गामा कुनैमा मुआब्जा दिने र कतै नदिइने गर्दा समस्या रहेको उनले बताए । उनले भने, “जग्गा अधिग्रहण गर्न नसकिएकाले पनि समस्या आइरहेको छ ।” केही ठाउँमा सडकको रेखाङ्कन बजारबाट लैजानुपर्दा घर भत्काएर जग्गा उपलब्ध गराउन समस्या भएको छ । लमजुङको सुन्दर बजार, भोर्लेटार रामबजार र कास्कीको भैँसे–बाझपाटन–याम्दी पुल सडकखण्डमा यो समस्या रहेको छ ।

जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी ठेक्का गर्न नपाउने कानुनी प्रावधान छ । संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकारका कारण विभागले व्यक्तिको जग्गामा उसले नचाहँदा सडक निर्माण गर्न नसक्ने उनले बताए । व्यक्तिगत सम्पत्ति भएका ठाउँमा जग्गा प्राप्त गरेर ठेक्काको काम गर्न कठिन छ ।

निर्माण गर्नुपर्ने स्थानमा मात्रै होइन निर्माण भइसकेका सडकमा समेत जग्गाको विवाद समाधान नभएको आयोजनाले जनाएको छ । अहिले सडक सञ्चालन भएका कतिपय जग्गा अझै पनि व्यक्तिका नाममा हुनु पनि समस्याका रुपमा रहेको प्रमुख अर्यालले बताए । उनका अनुसार सरकारले कानुन नै बनाएर गाडि गुडिरहेको सडकलाई आफ्नो नाममा ल्याउनुपर्ने देखिएको छ । यो समस्या अरु आयोजनामा समेत रहेकाले रणनैतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने उनले बताए । उनले भने, “राष्ट्रिय गौरवको योजनामा सडकको रेखाङ्कन र सडक सीमा यकीन भइसकेपछि जग्गाको लगत कट्टा सरल र छिटो तरिकाले हुनुपर्छ ।”

एकातिर सरकारले भइरहेका सडक चौडा बनाउने योजना बनाइरहँदा अर्कातिर स्थानीयवासीले सञ्चालनमा रहेका राजमार्गकोसमेत चौडा कम गर्नुपर्ने माग गरिरहेका छन् । मदन भण्डारी राजमार्ग, बिपी राजमार्गलगायतका राजमार्गमा सडकको सीमा कम गर्नुपर्ने आवाज उठ्ने गरेको छ । सडक सीमा निर्धारण नहुँदाको धेरै आयोजना समेत रहेको हुँदा सबै रणनैतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशनको लागि आवश्यक पहल गरिनुपर्ने प्रमुख अर्यालले बताए ।

आयोजनामा असोज मसान्तसम्ममा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ८५ प्रतिशत छ । आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये छ दशमलव २८ प्रतिशत खर्च भएको छ । असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार आठ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ ।

राजमार्गमा जम्मा १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९० पुल सम्पन्न भइसकेका छन् । हाल २० पुल निर्माणाधीन रहेको र २७ वटाको ठेक्का व्यवस्थापन बाँकी रहेको छ । चालू आवमा भैँसे, छिप्पे, सिती र रुडी खोलामा पुलका लागि ठेक्का व्यवस्थापनका क्रममा रहेको छ ।

राजमार्गमा आयोजनाबाट ६६५ किमी र अरु आयोजनाबाट ४६२ किमी गरी जम्मा एक हजार १२७ किमी सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै ५१६ किमी कालोपत्र सडक र २८ किमी ग्राभेल सडक निर्माणाधीन रहेको छ । हाल २३६ किमी सडक स्तरोन्नति ९कालोपत्र० गर्नका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहकेको बताइएको छ ।

असोज मसान्तसम्ममा थप १४ किमीमा कालोपत्र सम्पन्न भएको छ । राजमार्गमा भर्याग्भुरुङग १२ किमी, सेलेघाट ११ किमी र सुन्दरबजार आठ किमी गरी ३१ किमीमा ठेक्का व्यवस्थापनको क्रममा रहेको छ । आयोजनाअन्तर्गत पाँचथर, काभ्रेपलाञ्चोक, गोरखा, पर्वत र दैलेख गरी पाँच योजना कार्यालय रहेका छन् । पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा रहेको सो राजमार्गको सुरु बिन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ र अन्तिम बिन्दु बैतडीको झुलाघाट रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार