दाङमा जीप दुर्घटना : एकको मृत्यु, १९ जना घाइते

३ जनाको अवस्था गम्भीर

दाङको बबइमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्यानबाट तुलसीपुर जाँदै गरेको मे१ज ५२२ नम्बरको जिप सल्यान र दाङको सिमाना पर्ने एक्लेबर नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका-३ का ३३ वर्षीय देवबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । मृतक सुनार जिपका मालिक हुन् । दुर्घटनामा १९ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार बिहान ९ बजेतिर जीप दुर्घटना भएको र चालक फरार रहेका छन् ।

दुर्घटनामा घाइते हुनेमा दंगिशरन गाउँपालिका–२ की २१ वर्षीया पिमा ओली, बबई गाउँपालिका २ की २३ वर्षीया पवित्रा ओली र उनका ३ वर्षीय छोरा बृज्रेश ओली, ३२ वर्षीया कमला बस्नेत र उनका १० वर्षीय छोरा प्रशान्त खत्री, शान्तिनगर गाउँपालिका ४ की ३५ वर्षीया खली ओली, तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया शोभा बुढाथोकी र उनका ७ वर्षीय छोरा लोकेन्द्र बुढाथोकी छन् ।

यस्तै, घाइते हुने अन्यमा कालीमाटी गाउँपालिका ३ की २८ वर्षीया रीता खत्री, ३९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खेमराज बुढाथोकी, ५ वर्षीय प्रशान्त राना, १७ वर्षीया सपना ओली, राप्ती सोनारी गाउँपालिका ९ की ३५ वर्षीया पवित्रा बुढाथोकी, ३० की पिमा खत्री, बाँके कोहलपुर नगरपालिका ४ की ३२ वर्षीया दीपा ओली, १५ वर्षीया संगिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी, बर्दिया बासघारीकी २८ वर्षीया सुशिला राना छन् ।

गम्भीर घाइते पिमा खत्री, पार्वती ओली र प्रशान्त खत्रीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार