प्रधानन्यायाधीश जबराविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।

बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दै छ । इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ । २६ कात्तिकमा इकाई मार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वोच्च बारको सुझाव छ ।

यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । जसअनुसार सोमबार सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ । काठमाडौँ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४, १५, १६ र १७ कात्तिकमा सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम सम्पन्न भएका छन् ।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आन्दोलनको रणनीति तय गर्न बैठक बस्दै छन् । एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार