नेपालमा कोरोनाको दोस्रो लहर, गम्भीर खालको संक्रमणले मृत्युदर बढ्ने त्रास

युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा

नेपालमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भए सँगै सङ्क्रमितहरूमा गम्भीर प्रकारको सङ्क्रमणले मृत्युदर बढ्न सक्ने त्रास देखिएको छ । पछिल्लो पटक प्रत्येक दिन सङ्क्रमितहरूको सङ्ख्या बढिरहँदा उनीहरूमा नयाँ भेरियन्टको कोरोना देखिएको र अधिकांश सङ्क्रमितको अवस्था गम्भीर देखिएको शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोला बताउँछन् ।
अहिले देखिएको नयाँ प्रकारको भाइरस चाँडै सर्ने भएकोले मृत्युदर पनि उच्च रहेको डा. अनुप बास्तोलाको भनाई छ । उनका अनुसार अस्पतालमा विगत १० दिन यता सिकिस्त सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त सङ्क्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हाराहारीमा छन् । जुन अघिल्लो ३ महिनाको तुलनामा सङ्ख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो । डा.बास्तोलाले भने, “अहिले पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै छ । यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका छन् भन्ने हुन्छ । यी सङ्केतहरूले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ ।”
टेकु अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको डा. बास्तोलाले जानकारी दिए । “पछिल्ला केही हप्ता सङ्क्रमितको मृत्यु भएको छैन, तर अहिलेको सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २–३ हप्ताभित्र मृत्युदर बढ्ने आङ्कलन गर्न सकिन्छ “, उनले भने । पछिल्ला दिनमा प्रयोगशालामा गरिएका परीक्षणमा ’एस जिन टार्गेट फेलियर’ (एस जिन नेगेटिभ) को सङ्ख्या बढी देखिएको बास्तोलाले बताए ।
जसले कोरोना भाइरसको नयाँ प्रजाति (युके भेरियेन्ट) समुदायमा फैलिरहेको छ भन्ने विश्वसनीय आधार दिन्छ । डा.बास्तोलाले भने, “विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (युके भेरियेन्ट) बढी सङ्क्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रशस्त छन् । कोरोना भाइरसको पछिल्लो सङ्क्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको सङ्क्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ ।”

कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् ।

विद्यालयलगायत भिडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरे हो । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक सङ्क्रमण बढ्दै गएको छ । शुक्रवार मात्रै नेपालमा २ सय ८८ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ८ चैत यता दुई सयभन्दा बढी बालबालिका सङ्क्रमित भइसकेका छन्  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार