टी–ट्वान्टी विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

न्यूजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आज आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्यान्डको पाँच खेलमा चौथो जित हो ।

यस अघि लगातार चार खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ ।  न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्नेछ । समूह १ बाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आजको खेलमा न्यूजिल्यान्डले १ सय २५ रनको लक्ष्य १८ दशमलब एक ओभरमा कवेल दुई विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे ।

डेभोन कोनवेले ३६ रन तथा मार्टिन गुप्टिलले २८ रनको योगदान गरे । अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो । अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । उनले ४८ बलको सामना गर्दा ६ चौका र ३ छक्का प्रहार गरे ।

न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट हात पारे । त्यसैगरी टिम साउथी २ विकेट चट्काए । एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान एक–एक विकेट विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार