सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाएको ओलीको आरोप

बाबुरामसँग सोधे छोरी बेलायत पढ्न जाँदा आम्दानी र भिसाका बारेमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाएका छन् ।

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाएका हुन् । ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गरे ।

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उनले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । एमाले नभएको भए १७ साल दोहरिने खतरा देखिएको उनले तर्क गरे । उनले एमालेका लागि सरकार नभएर मुलुक पहिला प्राथमिकता भएको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई भूमिगत हुँदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका विषयमा प्रश्न उठाएका थिए ।

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’

उनले अहिले विभिन्न स्थानमा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले अब शसक्त भएर अघि बढ्ने दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार