सल्यान बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १२ पुग्यो, तीन जनाको पहिचान

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस आइतबार बिहान ११ बजे कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । घाइतेहरूका अनुसार बस निकै तिव्र गतिमा थियो ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ ।

मृतकमध्ये तीन जनाको पहिचान भएको छ । सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ वर्षीय तिलक ओली, दाङ जिल्ला घोराही उपमहानगरको नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकीको पहिचान खुलेको हो ।

मृतक भएका १२ जना मध्ये १० महिला र २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य ९ जनाको भने परिचय खुल्न बाँकी रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार