कुन-कुन देशमा छ इच्छा मृत्युको व्यवस्था ?

न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो ।

गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशतले इच्छा मृत्युको पक्षमा मतदान गरेका थिए । कानुन कार्यान्वयनमा आएसँगै निको नहुने रोग लागेका विरामीहरूलाई विशेष राहत मिल्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनि कम्तिमा दुई जना चिकित्सकले सिफारिस गरेमा उसले इच्छा मृत्यु रोज्न पाउने छ । तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्नेछ ।

कुन कुन देशमा छ इच्छा मृत्युको व्यवस्था ?
केही युरोपेली मुलुकहरुमा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ ।  नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्गमा इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ । स्पेनमा यसै वर्षको मार्चदेखि इच्छा मृत्युको व्यवस्था लागु भएको हो ।

त्यस्तै, क्यानडा र कोलम्वियामा पनि बिरामीले चाहेमा निश्चित शर्त पालना गरेर इच्छा मृत्यु वरण गर्न सक्छन् ।

इच्छा मृत्युका लागि देशअनुसार फरक फरक मापदण्ड छन् । अस्ट्रेलियाका क्विन्सल्यान्ड, भिक्टोरिया, साउद अस्ट्रेलिया र वेस्र्टन अस्ट्रेलियामा पनि इच्छा मृत्युको व्यवस्था छ । इच्छा मृत्युलाई कानुनी मान्यता दिने अन्तिम मुलुक भने पोर्चुगल हो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने विषयमा शुक्रबार पोर्चुगलमा मतदान भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार