धर्म परिवर्तनले दाजुभाइ नै पराई

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृत्यु भयो । उनी २८ साउन २०७७ मा क्रिश्चियन बनेकी थिइन् । कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बनेका थिए ।

२०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दैआएका थिए । ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ । क्रिश्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरिए भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

विशालले आमाको मृत्युको खबर भाइ पञ्चरामबाट राती नै पाएका थिए । रातारात गरेर उनी कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुगे । तर, आमाको दाहसंस्कारका क्रममा उनको भूमिका गौण रह्यो । जन्म दिएर दश धारा दूध चुसाएर हुर्काउने आमाको निधनमा उनले केश काट्न परेन, दुःख बगाउन पाएनन् ।

आमाको शव उठाएर गाड्नेसम्मका रित क्रिश्चियन धर्म अनुसार सङ्गति र भजन गर्दै सम्पन्न गरिए । आमा पनि विश्वासी (क्रिश्चियन) बनिसकेकाले सोही धर्म अनुसार घर सल्लाहमै दाहसंस्कार गरिएको पञ्चरामले बताए । हप्ता दिनपछि सान्त्वना सङ्गति गरेपछि ईश्वराको मृत्यु संस्कार सम्पन्न हुने छ ।

‘आमा पनि विश्वासी भएकाले यही धर्म अनुसार आमाको मृत्यु संस्कार गरिएको हो,’ पञ्चरामले भने, ‘यदि आमा पनि हिन्दु हुनुहुन्थ्यो भने दाइले आमाको दाहसंस्कार लगायतका सबै काम गर्नु पर्थ्यो । म चुप लागेर बस्नुपर्ने हुन्थ्यो ।’

पञ्चराम सहित दाल्फुका दर्जनौं परिवार क्रिश्चियन धर्ममा प्रवेश गरिसकेका छन् । सोही गाउँमा हिन्दु, किरात र स्वर्गीकमार्गीसमेत छन् । धर्म परिवर्तनले दाजुभाइको घरमा छेवर, पास्नी, पितृ पूजाआजा लगायतका रीतिरिवाजका बेलासमेत एकले अर्कालाई निमन्त्रणा गर्न असहज भएको देखिन्छ ।

उनीहरूबीचमा छोराछोरीको विवाह कर्ममा मात्र आवत–जावत हुने गरेको छ । विश्वासी ( क्रिश्चियन ) बनिसकेकाले पूजाआजा गर्दैनन् र पूजाआजा गरेको प्रसाद खाँदैनन् । एकै परिवारका भए पनि पारिवारिक रूपमा उनीहरू आपसमा बिरानो र पराई जस्ता देखिन्छन् । घरका बुवाआमाको मृत्यु संस्कार उनीहरूले अंगालेको धर्म अनुसार टुंग्याउने गरिएको स्थानीय बलिदान मण्डलीका अगुवा देवेन्द्र राईले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार