आईपीएलको उद्घाटन खेलमा बेंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ ।

चेन्नइमा भएको उद्घाटन खेलमा बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । रोमाञ्चक खेलमा बेंगलोरका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् । बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान रोहित शर्माले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

मुम्बईको नेतृत्व रोहितले गरेका छन् भने बेंगलोरको नेतृत्व विराट कोहलीले गरेका छन् । मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

आजको खेलमा चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच स्थानीय समयअनुसार राती साढे आठ बजे प्रतिष्पर्धा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार