गरिबलाई चाडपर्वमा पीडा नै पीडा

बर्दिबासको व्यस्त सडकमा तिहारको किनमेलले मानिसहरूको ठूलो भिड छ । कोही कपडा किन्न व्यस्त छन् भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन् ।

तर, सडकको एउटा कुनामा बसेर ढुङ्गा कुद्दै दिनमा ८ सय रुपैयाँ कमाउने गौशाला निगौलका १६ वर्षीय सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्त्व छ नत कुनै रमाइलो नै । थवइलाई एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरूले आफूले बनाएको जाँतो र सिलौटा किनिदिउन् ।

ढुङ्गा कुदेर सिलौटा, जाँतो बनाउने सुरज मात्र हैनन् उनकी ५० वर्षीया आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि उस्तै चाहना छ । कहिलेकाहीँ उनीहरुले बनाएको सुन्दर जाँतो र सिलौटा महिनौँसम्म बिक्री हुँदैन । जाँतो, सिलौटा बेचेर नै जीविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौँ छाक खाना समेत नखाएको नमिठो सम्झना छ ।

बर्दिबासको पूर्व जाने पिपलको आडमा बसेर ढुङ्गा कुद्दै बिहान, बेलुका छाक टार्दै आएका उनीहरूको बस्ने कोठा पनि छैन । घुमन्ते, फिरन्ते जस्तै उनीहरू जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन् । कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरि ढुङ्गा कुदेर बनाएको सिलौटा बेच्नु पर्ने थवइ परिवारको बाध्यता छ ।

वीरगन्जबाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झन्डै १८ वर्ष व्यापार गर्‍यो । सरकार भूमिहीन, सुकुम्बासीहरुलाई जग्गा तथा लालपुर्जा वितरण गरेर भुमिपती बनाउने भाषण लगाएर थाकेको छैन ।

तर यो मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै । नेपालको नागरिक भएतापनी पहिचानविहीन नागरिकताको प्रमाणपत्र बोकेर उनीहरू अहिले सर्लाहीको बागमती किनारबाट ढुङ्गा ल्याउँछन् अनि सुन्दर सिलौटा र जाँतो कुदेर बेच्ने पर्खाइमा बस्छन् ।

हुन त थवइ परिवारको यो परम्परागत पेसा नै हो । सुरजका बुवा र हजुरबुवाले सम्हाल्दै आएको सिलौटा र जाँतो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन् । तर समाज यान्त्रीकरण हुँदा अहिले जाँतोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन्, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन् । जसको फलस्वरूप थवइ परिवारलाई जीविकोपार्जन गर्न कष्टकर छ ।

सुरजकि ५० वर्षीय आमा राधादेवीले २० वर्ष अगाडि यही जाँतो र सिलौटा बनाएर जीविकोपार्जन मात्र हैन केही पैसाको जोहो गरेको सम्झना छ ।

उनका छोरा सुरजको पनि अन्य कुनै सीप छैन । कमाउन बाहिर पठाउने पैसा छैन । १६ वर्षीय सुरजलाई पनि यस्तै लाग्छ कि अब यो पेसाबाट बाँच्न गार्‍हो छ ।

२०५६ सालदेखि नै सरकारले भूमि आयोग बनाएर भूमिहीन, सुकुम्वासीहरूको लागी जग्गा तथा लालपुर्जा वितरण गर्ने गृहकार्य गर्‍यो तर लालपुर्जा हुनेखाने, सम्भ्रान्त वर्गले पाए थवइ जस्ता गरिबले न जग्गा पाए न लालपुर्जा नै । यतिसम्म कि सरकारबाट उनीहरूले सहानुभूति समेत पाउन सकेनन् ।

कोरोना महामारीको पीडा सबैभन्दा बढी यही वर्गले भोग्नुपर्‍यो । महामारी कै कारण कैयौँ मजदुरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौँ दिन भोकै बसे तर थवइ परिवार सधैँ ओझेलमा नै परे ।

कोरोना महामारीमा कयौँ रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ । हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाँताहरु त्यत्तिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार