कसरी गर्ने लक्ष्मीपूजा ?

तिहारको तेस्रो दिन लक्ष्मी पूजा गरिँदैछ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ ।

साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ ।

यस पटकको लक्ष्मी पूजाको शुभ साईत १८ गते साँझ ५:५५ बजेदेखि ६:५३ बजेभित्र रहेको छ ।

पूजाका लागि आवश्यक सामग्री

हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पञ्चोपचार अर्थात् पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र षोडशोपचार अर्थात् सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ । ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जली र प्रदक्षिणा–नमस्कार, स्तुति गरी १६ किसिमको विधि पूरा गरेर गरिने पूजा षोडशोपचार विधि अन्तर्गत पर्छ । पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तीको प्रयोग गरिन्छ ।

लक्ष्मीपूजाको लागि पूरा विधि नजानेका र आफैंले लक्ष्मीपूजा गर्न लागेकाहरूलाई सरल र संक्षिप्त पूजा विधि यहाँ उल्लेख गरिएको छ ।

पूजा विधि
– सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्ने । यदि सिमेन्टद्धारा बनेको घर छ भने पानीले सबैतिर पुछ्नुपर्छ ।
– लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाई गरेर गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा राख्ने ।
– त्यसपछि दीप प्रज्वलन गर्ने कलश र गणेशको पूजा गर्ने ।
– लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरु तथा आफैं पूजा गर्ने ।
– त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडी राख्ने ।
– कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

लक्ष्मी पूजा गर्दा विभिन्न विधि तथा भावले गरिन्छ । जुन भावले लक्ष्मीको पूजा गर्यो त्यही अनुसार लक्ष्मीको आर्शिवाद प्राप्त हुन्छ । लक्ष्मी माताले विधि भन्दा पनि कुन भावले पूजा गरेको त्यो हेर्नु हुन्छ । त्यसैले देखावटी रुपमा भन्दा पनि श्रद्दाले, सद्भावले जस्ले पूजा अर्चना गर्दछ । त्यसलाई नै लक्ष्मी प्राप्त हुन्छ ।

शान्ति पाठ

पूजा सकिएपछि आरती गर्न सकिन्छ । त्यसको लागि तीन पटक आचमनीबाट जल लिएर दीपकको चारैतिर घुमाउने तथा निम्न मन्त्रको उच्चारण गर्ने ।

ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः,

पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।

वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः,

सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

यसरी शान्ति मन्त्र सकेपछि त्यसपछि घरमा रहेका अन्य चल अचल सम्पत्तिलाई सोही विधिबाट पूजा गरेर विधिवत् रुपमा यो पूजा सम्पन्न गरिन्छ ।

अर्धरात्रिकालमा लक्ष्मीको पूजा गरेर अलक्ष्मीलाई बहिर्गमन गराउने पर्व हो, लक्ष्मीपूजा । यसदिन लक्ष्मीलाई घरमा भित्र्याउने र अलक्ष्मीलाई बहिर्गमन गराउनको लागि घरभित्र रहेका सबै पुराना र टुटेफुटेका सामान बाहिर निकाल्ने गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार