पुनर्नियुक्ति भएका चार मन्त्रीले लिए शपथ

नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका चार मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई सिफारिस गरेका थिए ।

कपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो । बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी हुन् । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार