चोलेन्द्रलाई कल्याणको जवाफ : मेरो विवेक फैसलामा पल्टाएर हेर्नू

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन्। काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो विवेक हेर्न पुराना फैसला पल्टाउन चुनौती दिएका हुन्।

प्रधानन्यायाधीश जबराले केही दिनअघि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका थिए। ‘कँही कतै मेरो विवेकको विषयमा पनि कुरा गरेको सुनेँ। विवेक कसरी मापन गर्ने मलाइ नै थाहा छैन। मेरो विचारमा मेरो विवेक के हो र कस्तो ठाउँमा प्रयोग भयो भन्ने कुरा मैले गरेको काम र मैले गरेको फैसलाबाट आमजनताले मापन गर्लान्। फैसला पल्टाएर हेर्नु राम्रो हुन्छ,’ जबरालाई जवाफ दिँदै उनले भने।

जबराको राजीनामा माग्दै पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्ति आएपछि आक्रोशित जबराले पूर्वप्रधानन्याधीश श्रेष्को नाम नै लिएर विवेक नभएको व्यक्ति भएको आरोप लगाएका थिए। जबराप्रति टिप्पणी गरेका श्रेष्ठले दलहरूप्रतिसमेत असन्तुष्टि जनाए। श्रेष्ठले लोकतन्त्र जनताको सुख, समृद्धिका लागि संस्कृति र जीवनशैलीका रूपमा विकास हुनुपर्नेमा यसलाई दलहरूले प्राइभेट कम्पनीजस्तो बनाएको बताए।

अछामका पुराना समाजसेवी तिलकबहादुर खत्री तिमिल्सिनाद्वारा लिखित ‘नेपालको राजनीतिक सन्दर्भः घटनाक्रमहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले दलहरूले जनता थर्काउँदै हिँडेको आरोप लगाए। ‘दलहरू बलियाबलिया निस्केका छन्, जनता थर्काउँदै हिँडेका छन्,’ उनले भने, ‘तर, जनता सार्वभौम छन्।’

उनले दलहरू आफैँ प्रजातन्त्र नभएको बताउँदैं प्रजातन्त्र जनताको सुखभोगका लागि हुनुपर्नेमा जोड दिए। ‘दलहरू विवेकशील, जवाफदेही हुनुपर्छ, सत्यको सार्वभौमिकता ग्रहण गरेर निर्णय गर्नुपर्छ,’ उनले थपे, ‘जनताले संविधानको राम्रो भोग गर्न पाउनुपर्छ।’ उनले मुलुकमा व्यवस्थापन कता गयो भन्ने चिन्ता सर्वत्र उठिरहेको बताए।

पुस्तकमा राष्ट्रियता, जनजीविका, शासन प्रणालीका विषयमा गम्भीर सवालहरू उठान भएको बताउँदैं उनले मोफसलको वौद्धिकतालाई राजधानीले सम्मान गर्नुपर्नेमा जोड दिए। उनले मोफसलका नागरिकहरू पनि शासन प्रणाली र राष्ट्रप्रति कति संवेदनशील छन् भन्ने कुरा कृतिले देखाएको उल्लेख गरे।

कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले दुनियाँ कसरी बदलिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए। पुस्तकमाथि नेपाल बारका पूर्व महासचिव विजय मिश्र र तिमिल्सिना समाज नेपालका संस्थापक अध्यक्ष शान्ति तिमिल्सिनाले टिप्पणी गरेका थिए। पुस्तकका लेखक तिमिल्सिनाले देश विषम परिस्थितीमा ग्रुजिरहेको बेला नागरिकले शासनशैली र शासनसत्ता सुधारका लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्नुपर्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार