एमाले एक्लाएक्लै चुनाव लडे तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ : गगन थापा

कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रचण्ड बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताएका छन् । अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने उनको भनाई छ । कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै नभएको दाबी गरे ।

‘हामीले कसैसँग मिलेर चुनाव लड्छौँ भन्दैमा हाम्रो कार्यकर्ताले अर्को पार्टीलाई गएर भोट हाल्दैनन् । मेरो निर्वाचन क्षेत्रमा मैले २५ हजार मत पाएँ । मैले मेरो पार्टीका क्रियाशील सदस्यलाई दुई गुणा गर्दा, मेरो सम्पर्कमा भएका समेतगरी १० हजार मान्छे चिनौँला, बाँकी रहेको १५ हजार भोट कसले हाल्यो ? मलाई नै थाहा छैन,’ उनले प्रश्न गर्दै भने, ‘अनि मैले मेरो निर्वाचन क्षेत्र हो भनेर अर्कोसँग तालमेल गर्दैमा त्यो भोट त्यता जाने हो र ?’

त्यस्तै नेता थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दावी गरे । केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको एमालेले कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ढालिदिने धम्की दिनु हाँस्यास्पद भएको नेता थापाले बताए ।

‘आफ्नो सरकार जोगाउन नसक्नेले तिम्रो सरकार ढालिदिन्छु भनेर फूर्ति नदेखाए हुन्छ । सबै सरकार ढलिसकेको छ । फेरि एक्लाएक्लै प्रतिस्पर्धा गरौं भनिरहेको छ । संघको सरकार गइसक्यो । प्रदेश सरकार गइसक्यो । सडकमा आइसक्यो,’ उनले भने, ‘एमालेले अहिलेसम्म कहिले एकल सरकार बनाएको छ  ?  एक्लाएक्लै लडे तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ ।’

यस्तै उनले तीन वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जीकिर गरे । सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको नेता थापाको दावी छ ।

उनले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप लगाए । ‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन् । विचरा भिम रावल देख्दा माया लागेर हुन्छ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन,’ उनले भने, ‘त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ ।’

नेता थापाले ओलीले आफ्नो साढे ३ वर्षे कार्यकाल सम्झिँदा लज्जाबोध भएर शीर निहुराएर हिड्नुपर्ने अवस्था रहेको बताए । ‘उहाँको कार्यकालका काम हेर्दा उहाँले लज्जाबोध भएर शीर निहुराएर हिँड्नुपर्ने हो । उहाँ त गाउँ–गाउँ डुल्नुभएको छ । कुरा सुन्छु, उहाँको फुर्ती देख्छु । आफ्नै कारणले ७ वटा प्रदेशमध्ये पाँच वटा सरकार ढलेका छन् । तैपनि फुर्ती घटेको छैन,’ थापाले भने, ‘जनताले झण्डै दुईतिहाई सहित ५ वर्षका लागि चुनेर पठाएका हुन् । अनि आफ्नै सरकार बचाउन नसक्नेले तिम्रो सरकार ढाल्दिन्छु भन्नुको के अर्थ ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार