अब ट्राफिकको जरिवाना अनलाइनमार्फत आफ्नै खाताबाट तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए । शुक्रबार यससम्बन्धी सम्झौता पत्रमा हस्तान्तरण कार्यक्रममा अनलाईन सेवा प्रदायक कम्पनी फोन पे प्रा.लि.को तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस लि. (कनेक्ट आईपियस) का मुन्नी राजभण्डारी लगाएतले हस्ताक्षर गरेका थिए ।

ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि थप ४५ वटा बैंक तथा वित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने योजना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार