एमाले अधिवेशनमा ‘भोट उता, कोट यता’

सुनसरी, ‘भोट उता, कोट यता’, ‘भोट उता, कोट यता’ विभिन्न कार्यालय प्रमुखको टेबलमा प्रयोग हुने नेपालको झन्डा, ढाका टोपी र अल्लोको कोट लिएर बसेका उनी अधिवेशनमा आएका सबैको ध्यान आफूतर्फ आकर्षण गर्न व्यस्त थिए ।

पार्टीको अधिवेशनमा यसरी आफ्नो व्यापार गर्न आएका व्यक्ति हुन् जुम्लाका ‘सौरव बुढा’ । दशैँ सकिएलगत्तै तिहारको आर्थिक जोहो गर्न उनी जुम्लामा बनेको ढाका टोपी, कोट तथा नेपालको झन्डा लिएर पूर्वका सहर आएका हुन् ।

आफूले सोचे जस्तो व्यापार नभएपछि उनले यस्ता मानिसको जमघट हुने कार्यक्रम धाउँदै आएका छन् । ९ कात्तिकबाट सुरु भएको अधिवेशनमा उनी पाँच दिनदेखि सोही स्थानमा व्यापार गर्दै आएका छन् । पाँच दिनको अवधिमा उनले करिब ६० वटाभन्दा बढी कोट र ४० भन्दा बढी टोपी बिक्री गरेको बुढा बताउँछन् ।

कोट सोचेभन्दा बढी बिक्री भयो, तर उनी खुसी छैनन् । चार हजार रुपैयाँभन्दा बढी खर्च गरेर आएका ‘बुढा’ व्यापार नभएपछि तिहारका लागि घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् ।

अन्य सहरमा १२ सय रुपैयाँभन्दा बढीमा बिक्री हुने कोट किन्ने मानिस नभएपछि उनले घटाएर एक हजार रुपैयाँमै दिनुपरेको दुखेसो पोखे ।

‘के गर्नु, यही कोट काठमाण्डुमा दुई हजार, २५ सयसम्ममा पनि बेचियो । तर, यहाँ बिक्री नभएपछि फिर्ता गरेर लान नि गाह्रो छ’, उनी भन्छन् ‘आउन चार हजार, जान चार हजार खर्च हुन्छ । यहाँ सकेर नगए फिर्ता लाँदा गाडीमा हराउन सक्छ, चोरी हुन सक्छ । बरु साउँमै दिन्छु, यसो गर्दा आफूले किनेको दाम त पाइयो नि ।’

तिहार मनाउनका लागि आर्थिक जोहो गर्न घर परिवार बिर्सेर आएका उनी व्यापार नभएपछि साहुको ऋण कसरी तिर्ने ? घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । साहुले केही दिँदैनन्, जति महँगोमा बेच्न सक्यो उति हामीलाई राम्रो हो । तर, व्यापार नै नभएपछि के फाइदा ? बुढा अहिले आफूले ल्याएको कपडा छिटो बिक्री गरेर तिहार मनाउन घर जाने तयारीमा छन् । ‘फाइदा भन्दा पनि सबै साउँमा बिक्री भयो भने अरू मलाई के चाहिँदैन’, उनी भन्छन् । न्युज कारखाना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार