मुलुकको समग्र पक्षलाई जनगणनामा समेटनुर्नेमा जोड

वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ । सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका हुन् ।

रोटरी क्लब अफ काठमाडौँ वेस्टले आज काठमाडौँमा आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैंगिक समानता तथा समावेशीकरणविद् सरु जोशीले गैरकानूनी रुपमा विदेश पुगेका नेपालीलाई पनि जनगणनामा छुटाउन नहुने बताइन् ।

मुलुकको पुनः संरचनापछि हुनलागेको जनगणनामा सत्यतथ्यसहितको सूचना उपलब्ध गराउन सरकारी तथा गैरसरकारी सङघ–संस्थाबीच आपसी समन्वय नभएमा तथ्याङ्क हराउनसक्ने बताउँदै अधिकारकर्मी जोशीले गैरसरकारी सङ्घ–संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

समाजवादी प्रेस सङ्गठनका संयोजक शम्भु श्रेष्ठले गणनामा मुलुकमा भएका सबै पक्षको सही सूचना प्राप्त हुनसकेमा त्यसका आधारमा राष्ट्र निर्माणमा नीति नियम तर्जुमा गर्न सहयोग पुग्नेमा जोड दिए । रोजगारीका सिलसिलामा भारतमा गएका नेपालीको सही तथ्याङ्क प्राप्त हुन नसकेकाले त्यसलाई कसरी गणनामा समावेश गर्ने, आत्महत्या गर्ने समूह र दुर्घटनामा परेकाको तथ्याङ्क पनि गणनामा छुटाउन नहुने सुझाव सहभागीले दिएका थिए ।

नेपाली पोलिसी इन्ष्टिच्यूटको बोर्ड सदस्यसमेत रहेकी अधिकारकर्मी जोशीले यस किसिमको सचेतना कार्यक्रमअन्तर्गत विभिन्न २० स्थानमा प्रस्तुति गरिन् । उक्त इन्ष्टिच्यूटले सरकारी प्रतिनिधि, केन्द्रीय तथ्याङ्क विभागसहित सरोकारवाला पक्षसँग आजै छलफल गर्ने कार्यक्रम छ । जन्म दर्ता, मातृ मृत्युदरलगायत विषय यसपटक गणनामा संलग्न गराउन लागिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार