माओवादी केन्द्रको कारबाही परे गृहमन्त्री थापा, सांसदबाट हटाइयो

राष्ट्रियसभा सदस्य खड्कालाई २४ घण्टे स्पष्टीकरण

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् ।

‘उहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको छ । हामीले यसअघि प्रतिनिधिसभाका चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसेकेका छौं, बादलजी अब माओवादी केन्द्रको सांसद रहनुभएन,’ उनले भने । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए ।

यसअघि सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई समेत माओवादी केन्द्रले कारबाही गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार