‘कच्चा पदार्थमा आधारित उद्योगहरूलाई भारी छुट दिइने’

अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरूलाई भारी छुट दिने सरकारको नीति भएको बताएका छन् ।

शुक्रवार ललितपुरमा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादनवृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरूलाई भारी छुट दिने नीति भएको बताएका हुन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने धारणा राखे ।

मुलुकमा उत्पादन भइरहेको विद्युत् खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरूको स्थापना र भएका उद्योगहरूको सहज सञ्चालन आवश्यक रहेको उनले बताए । उनले मुलुकमा उत्पादनवृद्धि नभएसम्म व्यापार घाटा न्यूनीकरण हुन नसक्ने र गरिबी पनि घटाउन नसक्ने जिकिर गरेका छन् । मन्त्री शर्माले उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिए ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु मेला कार्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार