काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए ।

मुख्‍यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत प्रस्थान गर्नु भएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ ।’

सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापति तोकेका थिए । पछि ०७५ बैशाखमा देउवाले निधिलाई उपसभापति मनोनित गरेका थिए ।

यस्तै ०७६ मा जेठमा उपचारका लागि सिंगापुर जाँदा पनि देउवाले उपसभापति निधिलाई नै कार्यवाहक जिम्मेवारी दिएका थिए । तर यस पटक प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दासम्म निधिलाई कार्यवाहक जिम्मेवारी दिने कुनै संकेत थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार