बिग्हीको प्रदूषण रोकिएन

“व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक” (व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन), महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८५ वर्षीय वृद्ध जितन यादवले बस्ती नजिकैको बिग्ही नदीको कालो प्रदूषित पानी देखाउँदै विरह पोखे ।

जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीले महोत्तरीका करिब दुई लाख जनसङ्ख्या प्रभावित छन् । धनुषा उद्गमस्थल रहेर केही ठाउँ महोत्तरी र धनुषाको सीमा बन्दै महोत्तरीबाट भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीमा धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर इण्डष्ट्रिज (उद्योग)ले ढलबाट झारेको प्रदूषित पानीले जनजीवन नराम्ररी प्रभावित बनेको हो ।

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेको र लोहारपट्टी नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीको वस्तुभाउको सघन चरन क्षेत्र नै बहाव बनेको छ । भङ्गाहा, लोहारपट्टी, जलेश्वर र मटिहानी गरी चार नगरपालिका एवं महोत्तरी र पिपरा गरी दुई गाउँपालिकासहित छवटा स्थानीय तह महोत्तरीमा बिग्ही नदी बहाव क्षेत्रमा पर्छन् ।

एकताका खानेपानीका मूल कैयौँ ठाउँमा रहेको यो नदी क्षेत्रमा विसं २०३९ (सन् १९८२)मा एभरेष्ट पेपर उद्योग स्थापना भएयता उद्योगले ढलबाट झार्ने प्रदूषित पानी मिसिएपछि खानेपानीका मुहान (भुल्के पानीको मुहान) सुकेका छन् । पछिल्लो करिब चार दशकदेखि नदीमा उद्योगले झारेको प्रदूषित पानीले नदी किनारका काँस (बगरमा हुर्कने एकप्रकारको वनस्पति, घाँस) मासिएका छन् । प्रदूषित पानीको दुर्गन्धले असहजता खेप्नुपरेको नदी छेउछाउका बस्तीका बासिन्दाको गुनासो छ ।

“बिग्ही त हाम्रो जीवन आधार थियो, यहाँ कैयन भुल्के पानीका मुहान थिए, नदी किनारमा सधैँ हराभरा घाँस देखिन्थ्यो”, यसअघि हरिणमरी गाविस छँदा अध्यक्ष रहेका भङ्गाहा–९ का रमेश यादवले भने, “प्रदूषित ढलको पानी झारिएयता भुल्के पानीका मुहान सबै सुकेका छन्, प्रदूषित पानी खाएर पशु चौपाया बिरामी हुने र चाँडै मर्ने क्रम पनि बाक्लियो ।” बगरमा अब काँस र अन्य घाँस पलाउन पनि छाडेको यादवको भनाइ छ ।

उद्योगले ढलबाट प्रदूषित पानी झारेपछि नदीको पानी कालो भएको छ । नदीको पानी प्रदूषित भएपछि विसं २०४० यता कैयौँ आन्दोलन भएका अहिले प्रदेश नं २ का प्रदेशसभा सदस्य महोत्तरीकै लोहारपट्टीका बासिन्दा जानकीशरण साह बताउँछन् । “हामीले विषाक्त पानी ढलबाट नदीमा झार्ने उद्योगविरुद्ध लामो आन्दोलन गर्यौँ”, साहले भने, “पछि यो मुद्दा सर्वोच्च अदालत पुग्यो, अदालतले नदीमा झारिएको ढल अन्तै व्यवस्थापन गर्न आदेश पनि दियो तर अदालती त्यो आदेश कहिल्यै कार्यान्वयन भएन ।” पछिल्लो कालमा प्रदूषित पानीको व्यवस्थापनबारे प्रदेश र सङ्घीय सरकारको चासो कम भएको साहको स्वीकारोक्ति छ । “जनताले त हामीलाई हेर्छन्”, जनता समाजवादी पार्टीका नेतासमेत रहेका प्रदेशसभा सदस्य साहले भने, “हाम्रै पहलकदमीमा त कमी छैन ? समीक्षा गर्नुपर्ने भएको छ ।”

महोत्तरीबाहेक धनुषाका क्षिरेश्वर नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाका धेरै बस्ती बिग्ही नदी किनारमा छन् । दुवै जिल्लामा बेग्लाबेग्लै र संयुक्त गरी विसं २०४० देखि २०६० सम्म कैयनपटक स्थानीय प्रशासन कार्यालयमा धर्ना, जुलुस र घेराउका आन्दोलन गरिएका विगत सम्झँदै अहिले जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख रहनुभएका सुरेशप्रसाद सिंहले भन्छन्, “त्यत्रा आन्दोलन भए, सर्वोच्च अदालतले तत्काल नदीमा झारिएको ढल अन्त व्यवस्थित गर्न आदेश दिएको पनि २० वर्ष नाघ्यो तर त्यो किन कार्यान्वयन भएन, बुझ्न सकिएन ।”

महोत्तरी र धनुषाका गरी आठ (महोत्तरीका छ र धनुषाका दुई) स्थानीय तहका ४० भन्दा बढी बस्ती भएर बग्ने बिग्ही नदीको प्रदूषण नरोकिँदा चरनमा त्यो पानी खाएर दुहुना गाई/भैँसी र अरु पशुवस्तु दीर्घरोगी हुने, दूध घट्ने, चाँडै थाक्ने र मर्नेसमेत गरेका पशुपालक किसानको गुनासो छ । नदी तर्दा पैदलयात्रुलाई विषाक्त पानीको असरले छाला चिलाउने समस्या पनि हुने गरेको लोहारपट्टी नपा–४ का वडाध्यक्ष जितेन्द्र चौधरी बताउँछन् । प्रदूषित पानीले बालीनालीको उत्पादन र गुणमा समेत ह्रास ल्याएको महोत्तरीको यस भेगका किसान बताउँछन् ।

“नियम, कानून हेर्दा सरकारले वातावरणमा प्रतिकूल असर पर्न नदिन उद्योग स्थापना र सञ्चालनको मापदण्ड तोकेको देखिन्छ”, नेपाल सरकारको सहसचिव सेवाबाट निवृत्त भएका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषिविज्ञ रामबहादुर भुजेल भन्छन्, “तर यो मापदण्ड व्यवहारमा उत्रेको जनताले अनुभूति गर्न पाएनन्” भुजेलले आफ्ना कुरा थप्दै भने, “विधिले अह्राएअनुसार खुरुखुरु काम भएको कहिले देखिएला ?” नियम, कानून भएर पनि तिनको कार्यान्वयन नहुँदा/नगरिँदा समस्या बढेको भुजेलको ठम्याइ छ ।

पछिल्लोपटक विगतमा प्रदूषणविरुद्ध लामो आन्दोलन गरेका राजनीतिक कार्यकर्ता अहिले स्थानीय तह, प्रदेशसभा,  प्रतिनिधिसभा र राष्ट्रियसभामा पुगेर सरकारको जिम्मेवारीमा देखिएपछि यस भेगका बासिन्दामा अब प्रदूषित पानी व्यवस्थित हुने आश जागेको थियो । “यही प्रदूषणविरुद्ध कैयौँपटक धर्ना र घेराउ कार्यक्रममा सरिक भएका थुप्रै अहिले ठाउँमा पुगेका छन्”, लोहारपट्टीबजारका सामाजिक राजनीतिक कार्यकर्ता बदरुल हक कवारीले भने, “अहिले पनि बिग्ही नदीको प्रदूषित पानी व्यवस्थित नभए कहिले होला ?”

यसैबीच प्रदेश नं २ का उद्योग, वन तथा वातावरणमन्त्री रामनरेश रायले बिग्ही नदीको प्रदूषणबारे आफ्नो चासो रहेको बताएका छन् । “उद्योगले नदीमा झारेको ढलको प्रदूषित पानी अन्तै व्यवस्थित वा भरपर्दो वैज्ञानिक विधिले शुद्धीकरण गर्नैपर्छ”, मन्त्री रायले सञ्चारकर्मीसँग भने, “प्रदेश सरकारका तर्फबाट यसबारे पहलकदमी हुनेछ ।”

पछिल्लोपटक प्रदेश सरकारका मन्त्रीले यसबारे चासो बढाएपछि प्रदूषित पानीपीडित महोत्तरी र धनुषाका बासिन्दामा बिग्हीमा शुद्ध पानी बगेको हेर्ने दिन फेरि आउने आश भने जागेको छ तर यस्तो पहलकदमी र परिणाम हेर्न वर्षौँ कुर्नुपर्ने नहोस् भन्ने प्रभावित बस्तीका बासिन्दा बताउँछन् । उद्योगले भने सधैँजसो आफूले झारेका ढलको पानीले नदीको पानीको रङ कालो बनाएको भए पनि विषाक्त भने नभएको भन्दै झारा टारेर सर्वोच्चको आदेश अवज्ञा गर्ने दिन कहिले टुङ्गिएला भन्ने पर्खाइमा रहिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

Loading...