फुट्यो विवकेशील साझा पार्टी !

विवकेशील साझा पार्टी बिभाजन भएको छ । पार्टी संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको बताएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै उनले मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताएका छन् । उनले आजको निर्णयबाट रवीन्द्र मिश्रले पार्टी दोस्रो पटक फुटाएको बताएका छन् ।

यसअघि आजै  पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनस् विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको थियो । बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले उक्त दस्तावेज पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मिश्रले केही दिनअघि स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।

आजको बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरून्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

आजको बैठकमा विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह भने सहभागी थिएन। पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार