सेनाले ट्र्याक खुलाएर असारसम्म सिमकोटमा सडक पु-याउने

जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पु-याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको छ ।

राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्र्याक खोल्न बाँकी रहेकामा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन । सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो ।

ट्र्याक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ । विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ । सेनाले ट्र्याक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए । सेना र विभाग मिलेर चालू आवभित्रै ट्र्याक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने उनले बताए । सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो ।

सेनाले तिहार लगत्तै काम सुरु गर्ने भएको छ । “सेनाले सिमकोटबाट काम गर्नेछ भने हामीले सलिसल्लाबाट काम गर्नेछौँ”, प्रमुख लामाले भने । केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरुले चालू आवमासमेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए ।

केही वर्ष पहिलेसम्म सो ट्र्याक खोल्न १० वर्ष लाग्ने बताएको प्रमुख लामाले बताए । अहिले अरु कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आवमा सडक निर्माण सम्पन्न हुने उनको भनाइ छ । उनले भने, “कोभिड वा वर्षा र हिमपातका कारण ढिलाइ हुन सक्छ, अन्यथा जसरी पनि असारसम्म सडक बन्छ ।”

यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो । बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको उनले बताए । सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ । अहिलेसम्म ट्र्याक खुलिसकेको सडक आठ मिटर चौडाइको छ । यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ । सेनाले ट्र्याक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए ।

सेनाले खुलाएको ट्र्याक पनि विस्तार गरेर आठ मिटर नै चौडा बनाइनेछ । सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए । चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ । सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन । उनले भने, “नेपाल सरकारको बजेटबाट नै स्तरोन्नति गर्न लागिएको हो ।” सरकारले निर्माण गरेको सडकमा मुआब्जा नदिइने हुँदा समस्या आउने गरेको प्रमुख लामाले बताए ।

स्थानीयवासीलाई मनाएर ट्र्याक खुलाइने गरिएको छ । हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५/१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ । अधिकांश ट्र्याकमा ठूलाठूला चट्टान भएकाले निर्माण कार्यमा ढिलाइ भएको योजनाले जनाएको छ । विष्फोटक पदार्थ ल्याउन बढी समय लागेको प्रमुख लामाले बताए । उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाई भएको थियो ।

उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण कार्य बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए । उनले भने, “सिमकोट बजार क्षेत्रमा पाँच किमी रेखाङ्कन विवाद र क्षतिपूर्ति मुअब्जा माग भई निर्माण कार्य अवरुद्ध भएको थियो ।”

सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्र्याकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ । लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग छ । सो खण्डको ट्र्याक खुलाउनुपर्नेमध्ये पनि अफ्ठ्यारो भाग सेनाको कर्णाली करिडोर विकास निर्माण दलले खुलाउनेछ ।

सेनाले खुलाउने बाहेकको बाँकी रहेको सडक र अस्थायी बेलिब्रज योजना कार्यालयले निर्माण व्यवसायीमार्फत निर्माण गर्नेछ । कर्णाली करिडोरमा हिल्सादेखि सिमकोट ९५ किमी र सिमिकोट–सरिसल्ला खण्ड ५० किमिमा सडक निर्माण भइरहेको छ । हिल्सा सिमकोट सडक खण्ड ९५ किमीको ट्र्याक खोलिसकेको छ । सोही सडकखण्डको च्याछारा भीरको ग्रेड मिलाइसकेपछि सिमकोटबाट सोझै चीनको सिमाना हिल्सा पुग्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार