रजनीकान्तले ड्राइभर साथीलाई समर्पित गरे दादा साहब फाल्के अवार्ड

भारतीय सुपरस्टार रजनीकान्तलाई भारत सरकारले यसै साता ६७औँ नेसनल फिल्म अवार्डमा दादा साहब फाल्के अवार्डबाट सम्मानित गर्‍यो । रजनीकान्तले सो प्रतिष्ठित अवार्ड आफ्ना ड्राइभर साथी राजबहादुरलाई समर्पित गरेका छन् ।

राजबहादुर उनै हुन्, जसले रजनीकान्तलाई अभिनेता बन्नका लागि प्रोत्साहित गरेका थिए । रजनीकान्तले उपराष्ट्रपतिको हातबाट अवार्ड लिएपछि सो अवार्ड आफ्नो अभिनय प्रतिभा पहिचान गरिदिएका साथी राजबहादुरलाई समर्पित गर्दै आफूहरूको मित्रताको स्मरण गरेका थिए ।

रजनीकान्तले आफू कहिल्यै कलाकार बनुँला भन्ने कल्पनासमेत गरेका थिएनन् रे । त्यति बेला उनी बसमा कन्डक्टरको काम गर्थे । राजबहादुर ड्राइभर थिए ।

उनीहरूको भेट सन् १९७० मा भएको थियो । त्यति बेला उनीहरू एउटै बसमा काम गर्थे । सोही क्रममा राजबहादुरले रजनीकान्तलाई ‘तिमीमा अभिनय गर्ने क्षमता छ, तिमी कलाकार बन्नुपर्छ’ भनेर अभिनय सिक्नसमेत प्रेरित गरे । उनले रजनीकान्तलाई चेन्नाई गएर अभिनय स्कुलमा भर्ना हुन दबाब दिएका थिए । त्यसपछि रजनीकान्तले दुई वर्ष सो स्कुलमा अभिनय क्लास लिएका थिए ।

दुई वर्षको अभिनय कोर्स सकिएपछि इन्स्टिच्युटले आयोजना गरेको एक कार्यक्रममा रजनीकान्तले देखाएको प्रस्तुतिले तारिफ पाएको थियो । सो कार्यक्रममा चर्चित फिल्ममेकर के बालाचन्द्र प्रमुख अतिथि थिए । रजनीकान्तको प्रस्तुतिले उनलाई प्रभाव पारेको थियो । त्यति बेला उनले रजनीलाई ‘तिमी तमिल सिक’ भनेका थिए ।

के बालाचन्द्रले भनेको कुरा रजनीकान्तले साथी राजबहादुरलाई सुनाए । राजबहादुरले ‘तिमी चिन्ता नगर, भोलिदेखि तिमी र म तमिलमा मात्रै कुरा गर्नेछौं’ भने । राजबहादुरले यो कुरा न्युज १८ लाई दिएको एउटा अन्तर्वार्तामा उल्लेख छ ।

रजनीकान्तले अभिनय कोर्स गर्दा राजबहादुरले हरेक महिना आफ्नो तलबको आधा अर्थात् दुई सय भारु रजनीकान्तलाई पठाइदिने गर्दथे । ताकि उनलाई अभिनय सिक्न कुनै समस्या नहोस् ।

आफू यत्तिको ठूलो सुपरस्टार भए तापनि रजनीकान्तले आफ्ना साथी राजबहादुरलाई कहिल्यै भुल्दैनन् । उनले राजबहादुरले नै आफूलाई कन्डक्टर शिवाजी राव गायकवाडबाट ‘रजनीकान्त’ बनाएको कुरा धेरै पटक बताइसकेका छन् ।

रजनीकान्त फुर्सद हुने बित्तिकै राजबहादुरको घर पुगिहाल्छन् । राजबहादुरले पनि आफ्नो घरको एउटा कोठा रजनीकान्तलाई विशेष तवरले रिजर्भ राख्ने गरेका छन् ।

रजनीकान्तले सन् १९७५ मा अभिनय यात्रा सुरु गरेका थिए । उनको पहिलो फिल्म हो, तमिल भाषाको ‘अपूर्व रागाङ्गल’ । उनले त्यसपछि तमिल, तेलेगु, हिन्दी, कन्नाडलगायतका भाषाका थुपैै्र फिल्ममा अभिनय गरेका छन् । उनी सन् २००० मा पद्म भूषण र सन् २०१६ मा पद्म विभूषणबाट सम्मानित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार