म्याग्दीमा एमालेको नेतृत्व: ‘वडामा युवा, पालिकामा पाका’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ ।

६ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेतृत्व चुनिएको छ । पालिका अधिवेशनबाट धवलागिरिमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मङ्गलामा सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकामा प्रेमबहादुर कार्की (दीपक) र बेनी नगरपालिमा नारायण जिसी पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

पालिकाका नेतृत्वमा चुनिएकासमेत युवा पुस्ताकै पाका नेता बढी छन् । धवलागिरि कमिटिका सचिव रेशम छन्त्याल, उपसचिवद्धय विजय घर्ती र तिलक पुन युवा हुन्, भने उपाध्यक्ष राजाराम सुवेदी वडा नं ६ मराङको वडाध्यक्ष हुन् । सोही पालिकाकै वडा नं ४ मुदीका वडा कमिटी अध्यक्ष गणेश घर्तीसमेत युवा हुन् । वडा र पालिका कमिटीमा युवा पुस्ताको ७५ प्रतिशतको हाराहारीमा प्रतिनिधित्व रहेको एमाले जिल्ला सचिवालय सदस्य एवं धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

युवा पुस्ताकै पाका नेता गर्वुजाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित मालिका कमिटीका पदाधिकारी सबै युवा नै रहेका छन् । कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तोष सुवेदी, उपसचिवमा भुपेन्द्र दर्जी र धनबहादुर बोहरा चयन भएका छन् । उपसचिव दर्जी २४ वर्षको छन् । मालिकाको वडाध्यक्षमध्ये २ नम्बर वडा कमिटी अध्यक्ष उदयबहादुर बुढाथोकी, ५ का अध्यक्ष नवीनकुमार बुढाथोकी, ६ का अध्यक्ष तारामान रोका र ७ का अध्यक्ष टुकलाल चोचाङ्गे ३५ वर्षभित्रको हुनुहुन्छ भने १ नम्बरका अध्यक्ष यामबहादुर पुन, ३ का बलबहादुर बुढा र ४ का गोविन्द कँडेलसमेत युवा पुस्ताकै रहेको गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी एमाले नेत्री खरमाया बिटालुले बताइन् ।

उनका अनुसार पालिका र वडा कमिटीमा चयन भएका ८० प्रतिशत युवा पुस्ताका रहेका छन् । मङ्गला वडा र पालिका कमिटीमा समेत ७० प्रतिशतको हाराहारीमा युवापुस्ता समेटिएको गाउँपालिकाका उपाध्यक्षसमेत रहेकी एमाले नेत्री सिर्जना केसीले जानकारी दिइन् । सतप्रसाद रोकाको अध्यक्षतामा गठीत पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिवमा चिरञ्जीवी शर्मा, उपसचिवमा दर्पण रोका र चक्रलाल पाण्डे चयन भएका छन् ।

अध्यक्ष रोका र उपाध्यक्ष अधिकारी युवा पुस्ताकै पाका नेताका रुपमा चिनिन्छन् भने सचिव शर्मा र उपसचिवद्वय रोका र पाण्डे युवा नेता हुन् । यस पालिकाको वडा नं १ कुहुँका वडा कमिटी अध्यक्ष एकजित रोका, ४ का अध्यक्ष अर्जुन रोका र ५ का अध्यक्ष कृष्ण छन्त्याल ४० वर्ष उमेरभित्रकै युवा नेता हुन् ।

अन्नपूर्ण–३ को वडा कमिटी अध्यक्ष रमेश पुर्जा र ७ को अध्यक्ष मिलन पुर्जा युवा हुन् । अधिवेशन सम्पन्न भएका वडामा करिब ४० प्रतिशतको हाराहारीमा युवापुस्ताको प्रतिनिधित्व रहेको बताइएको छ । अन्नपूर्ण– ८ को वडा कमिटी अध्यक्षमा निर्वाचित देउकुमारी खोरजा म्याग्दीमा एमालेको वडा कमिटीमा निर्वाचित एक्ली महिला वडा कमिटी अध्यक्ष बनेका छन् ।

बेनी –९ का वडा कमिटी अध्यक्ष बाबुराम चोखाल, ३ का अध्यक्ष गेमबहादुर घर्ती मगर, ५ का अध्यक्ष दिनेश कार्कीसमेत युवा नेता हुन् । बेनी नगर कमिटीको अध्यक्षमा समेत युवा नेता नारायण जिसी निर्विरोध निर्वाचित भएका छन् ।

प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा लीलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हीराबहादुर थापा चयन भएका छन् । नगरको पदाधिकारी र कमिटीमा समेत युवाको सङ्ख्या अधिक रहेको एमालेले जनाएको छ ।

रघुगङ्गाको पालिका र वडा कमिटीमा युवाकै वर्चश्व रहेको एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिए । दीपक कार्कीको अध्यक्षतामा गठीत ५८ सदस्यीय एमालेको रघुगङ्गा गाउँपालिका कमिटीमा कमिटीको उपाध्यक्षमा गम पुन पाका र सचिव झलक शर्मा, उपसचिवद्धय यामकुमारी गर्वुजा र दिपा पुन युवा पुस्ताका हुन् । रघुगङ्गा–३ नं वडा कमिटीका अध्यक्ष सुमन पौडेल, ५ का अध्यक्ष तेजु शेरपुञ्जा र ८ का अध्यक्ष तेजिन फगामी पनि युवा हुन् ।

‘‘जिल्लाव्यापी रुपमा वडा र पालिकास्तरको नेतृत्व र कमिटीमा युवापुस्ताकै वर्चश्व देखिएको छ, राजनीतिमा युवाको आकर्षण बढ्नु सकरात्मक पक्ष हो, यसले पार्टीलाई बलियो र समाजलाई सचेत र जागरुक बनाउन रचनात्मक भूमिका खेल्नेछ’’, जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका एमाले उपाध्यक्ष केसीले भने । अन्नपूर्ण गाउँपालिका अधिवेशन केही दिनपर सारिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार