संसदमा बिहीबार पनि एमालेको नाराबाजी

बैठक १८ दिनका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै यसअघि एमालेमा रहेका माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेका सांसदहरूले विरोध जनाएका हुन् । बैठकमा एमालेका सांसदहरूले संसदीय मर्यादा कायम गर, गैरसांसदहरुलाई निषेध गर लगाएका नारा लगाएका थिए ।

एमालेका सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले सदन अवरुद्ध हुँदा सदनले गर्नुपर्ने कामहरू रोकिएको भन्दै सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । त्यस्तै बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद् सञ्चालनमा सहयोग पु¥याउन उनले आग्रह गरेका थिए । सभामुख सापकोटाले विधि र पद्धतिका आधारमा आफ्ना कुरा सदनमा राख्न ध्यानाकर्षण पनि गराए ।

सभामुखको आग्रहपछि पनि एमालेका सांसदहरूले नाराबाजीलाई जारी राखेपछि सभामुख सापकोटाले नियमित कार्यसूची अघि बढाएका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै बैठकमा सभामुख सापकोटाले सदनमा अनुपस्थितिको सूचनाहरू स्वीकृतिका लागि प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले चालू अधिवेशन सुरु भए देखिनै निरन्तर रूपमा प्रतिनिधिसभा बैठकमा विरोध गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार