युरोपा लिग : म्यान्चेस्टर युनाइटेड विजयी हुँदा आर्सनल बराबरीमा

युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगको खेलहरूमा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेड विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ ।

गएराति स्पेनमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ग्रानडालाई २–० ले हरायो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । ग्रानडामा बिहीबार राति भएको खेलको ३१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । घरेलु टोलीलाई बल पोसेसनमा दवाव बढाएपनि युनाइटेडले दोस्रो गोलको लागि पेनाल्टी र खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयमा ब्रुनो आँफैलाई पेनाल्टी बक्समा यान ब्रिस इटेकीले लडाएपछिको प्राप्त पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई २–० को सहज जित दिलाए ।

उता आर्सनल भने आफ्नै मैदानमा चेक गणतन्त्रको स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर दुई गोल निस्कदा दुवै टोलीले जित हात पार्न सकेन । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलको ८६औैं मिनेटमा घरेलु टोलीका निकोलस पेपेले गोल गर्दै अग्रता दिलाएका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा थोमस होलेसले गोल गर्दै स्लाभियालाई हारबाट जोगाउँदा आर्सनल जितबाट वञ्चित बन्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार