आज मुख्यमन्त्री शाक्यकाे पदकाे छिनाेफानाे, यस्तो छ प्रदेशसभाको अंकगणित

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको निर्णय आज हुदैँछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो ।

मुख्यमन्त्री शाक्यले गत बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत मागेकी थिइन। सत्तारुढ दल एमालेको विभाजन भएर सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।

हाल बागमती प्रदेश सभामा १०९ जना सांसद छन् । एमालेका सभामुखसहित ४३ जना सांसद छन् । एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) का १३ जना सांसद छन् । त्यसैगरी माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् । शाक्यलाई बहुमतका लागि ५५ जना सांसद आवश्यक भएपनि सत्तारुढ दल एमलोसँग ४३ जना मात्रै सांसद भएपछि उनले प्रदेश सभाबाट बहुमत नपाउने निश्चित छ ।

विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको छ । विपक्षी गठबन्धनले बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन् । नँया मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्ने तय भइसकेको छ ।

समाजवादी र कांग्रेसले आलोपालो सरकार गठन गर्ने निर्णय गरिसकेको छ । भाद्र २ गते ठूलो दलको हिसावले मुख्यमन्त्री बन्नुभएकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गर्नुभएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार