एनआईसी एशियाले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आ.व. २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (रू १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (रू १ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (रू ९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गरिनेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४ औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ ।

बैंकले गत आ.व. २०७७/७८ मा प्रति शेयर आम्दानी रू. २८.१८ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब रू. ३ अर्ब २६ करोड आर्जन गर्न सफल भएको छ । बैंकको स्व–पुँजीमा प्रतिफल १७.०९ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरू मध्ये पहिलो स्थानमा रहन सफल भएको छ । यस बैंकले आ.व. २०७७/७८ मा कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु-याउन सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।  यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ८९ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब रू. २९८ अर्ब पु-याउन बैंक सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो । मुलुकका अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब रू. २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.०९ गुणा रहेको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जा जस्ता विभिन्न रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको १.८ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरुप कोभिड–१९ को विषम परिस्थिति तथा चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रयमाससम्ममा ०.५० प्रतिशतमा झार्न बैंक सफल भएको छ । बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार