राष्ट्रियसभाका २० सांसद पदमुक्त हुँदै, कुन पार्टीका कति ? (नामसहित)

राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुनमा रिक्त हुने भएको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद रिक्त हुने भएको हो । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी) का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । निर्वाचन आयोगले रिक्त २० सदस्यको निर्वाचन गर्न माघ पहिलो साता सिफारिस गरेको छ।

आसन्न निर्वाचनका मिति र पूर्वतयारीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित पदाधिकारीहरु बालुवाटार पुगेका थिए । २०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो ।

पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् । दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।

एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् ।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

यस्तै, नेपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे पदमुक्त हुँदैछन् । साथै अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।

एमाले :
कोमल वली
अगम वान्तवा राई
परशुराम मेघी गुरुङ
नैनकला ओझा
रामलखन चमार
सुमनराज प्याकुरेल
कविता बोगटी
चक्र स्नेही

माओवादी केन्द्र:

शशिकला दाहाल

दीनानाथ शर्मा
जीवन बुढा
खिमकुमार विक

कांग्रेस सांसद

दृगनारायण पाण्डे
तारादेवी भट्ट
राधेश्याम अधिकारी

एकीकृत समाजवादी:
ठगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी

पदमुक्त हुने मनोनीत सांसद

रामनारायण बिडारी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार