बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशको राजीनामा मागेको हो । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागिएको हो ।  बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएकोले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

बैठले सत्तारुढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायाधीश राणाले राजीनामा दिनु उपयुक्त हुने धारणा बनाएको हो । प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बार बैठकले गरेको छ ।

 न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम छ । न्यायाधीशले प्रधानन्यायाधीश भेट्ने, इजलासमा सुनुवाइ नहुने यसरी कसरी जनताले न्याय पाउँछन् ।’

श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाभित्रै मिलाउन नसककेको बताए । ‘उहाँको काम कारबाहीमा अरु न्यायाधीशहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि,’ उनले भने ।

बारले यसअघि न्यायाधीश नियुक्तीको विषय, न्यायापालिकाभित्र विसंगति, विकृति, विचौलियाहरु मौलाएको विषय, भ्रष्टाचार नियन्त्रणको विषय, न्यायाधीशहरुको सम्पत्ति रातारात बढ्दै जाने विषयको सम्बन्धमा, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका विषय र कुराहरु उठाउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार