महोत्तरीको पुनः मतगणना परिणाम : पार्टीले स्वीकार्यो, उम्मेदवारको आपत्ती

मनरा सिस्वा नगरपालिका–५ मा भएको पुनः मत गणनाप्रति कांग्रेसबाट विजयी वडा अध्यक्ष अरुणकुमार चौधरीले आपत्ती जनाएका छन् । स्वतन्त्र उम्मेदवार रमेश रायले दुई सय ६७ मतको दावीसहित मुद्दा दायर गरे पनि दुई सय ६८ मत कसरी आयो भन्नेमा चित्त नबुझेको उनले बताएका छन् । उनले कानुनी उपचार खोज्ने बताएका छन् ।

स्वतन्त्र उम्मेदवार रायले दुई सय ६८ मत अर्थात कांग्रेसबाट विजयी हालका वडा अध्यक्ष अरुणकुमार चौधरीले दुई सय ६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार रमेश रायले चौधरीको भन्दा दुई मत बढी ल्याएर विजयी भएका छन् । तर आयोगले मतगणनामा पक्षपात गरेको भन्दै उक्त मत परिणामलाई स्वीकार गर्न नसकिने चौधरीको अडान छ । ‘रायले ल्याएको भनिएको दुई सय ६८ मतमाथि प्रश्न चिन्ह खडा हुन्छ । कानुनी उपचार खोज्ने बारे छलफल भइरहेको छ । यो परिणाम कुनै पनि हालतमा स्वीकार्य छैन,’ चौधरीले भने ।

२ असोज ०७४ भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको दुई सय ६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको दुई ६७ मत आएकोमा निर्वाचन अधिकृतले चौधरीको तीन वटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो । निर्वाचन आयोगले गोलाप्रथाद्वारा कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रमेश रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

६ चैत ०७७ उच्च अदालत जनकपुरको आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोना महामारीका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्च अदालत जनकपुरको इजलास नम्बर २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक ०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो ।

यस्तो छ कांग्रेसको भनाइ

सर्वोच्च अदालतको फैसला र मतगणनापछि आएको परिणामलाई कांग्रेसले भने स्वागत गरेको छ । चार बर्षपछि भए पनि स्वतन्त्र उम्मेदवार रमेश रायले न्याय पाएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।

महोत्तरीका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य चिरञ्जीवी हमालले अदालतले गरेको फैसलालाई अरुण चौधरीले समेत स्वीकार गर्नुपर्ने बताए । यसैगरी, जनप्रतिनिधिहरूले समेत मत परिणाम अदालतको निर्देशनअनुसार नै भएको र यो बिषयमा आफुहरूले केही बोल्न नमिल्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार