एनभीए भलिबल लिग: न्यु डाईमण्ड र हेल्प नेपालले जिते उपाधि

पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि न्यु डाईमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो । सुरुवाती सेट पुलिसले २५–२२ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार न्यु डाईमण्डले २५–११ र २५–१९ ले जित्यो । तर, चौंथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो । त्यसपछि पाँचौ तथा अन्तिम सेटमा १५–११ को जित निकाल्दै न्यु डाईमण्डले उपाधि आफ्नो बनायो । उपाधिसँगै न्यु डाईमण्डले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो ।

पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । बिहीबार नै भएको हेल्पले फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५–१४ २५–२० र २५–२२ को सोझो सेटमा जित निकालेको थियो ।

उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले १ लाख ७५ हजारमा चित्त बुझायो । पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो । महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार