देउवाको ‘गढ’मा रामचन्द्रको टक्कर

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा दार्चुला बाहेकका जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था कमजोर बन्यो । दार्चुलाबाहेकका आठवटा जिल्लामा देउवा निकट महाधिवेशन प्रतिनिधि विजयी भएका थिए । आठवटै जिल्ला सभापति पनि देउवा निकट थिए ।

तर, १४औँ महाधिवेशनमा भने समीकरण केही बदलिएको छ । अहिले रामचन्द्र पौडेल खेमाबाट सुदूरपश्चिमका तीनवटा जिल्लामा सभापति विजयी भएका छन् । देउवा खेमाको राम्रो पकड रहेको भनिएका बाजुरा र बझाङमा पौडेल खेमाबाट सभापतिका उम्मेदवार बनेका व्यक्ति विजयी भएका छन् भने दार्चुलामा पौडेलको स्थिति यथावत् छ ।

बाजुरामा पौडेल खेमाका रामसिंह रावल सभापतिमा विजयी भएका छन् । बाजुराबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिमा पनि पौडेल खेमा हाबी देखिएको छ । बाजुरा क्षेत्र नम्बर ‘क’बाट १७ जना प्रदेश प्रतिनिधि चयन भएकामा नौ जना पौडेल खेमाका छन् । यसैगरी क्षेत्र नम्बर ‘ख’बाट विजयी १७ जनामध्ये १३ जना पौडेल खेमाका रहेका छन् । बाजुराबाट ३४ जना प्रदेश प्रतिनिधिमध्ये २२ जना पौडेल खेमाबाट र १२ जना देउवा खेमाबाट विजयी भएका छन् ।

वरिष्ठ नेता पौडेलले यस पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पनि राम्रो उपस्थिति जनाएका छन् । डडेल्धुरामा देउवाको एकलौटी पकड थियो । तर, यस पटक भने डडेल्धुराका सभापति कर्ण मल्लसहित आधा कांग्रेसका कार्यकर्ता देउवाविरुद्ध उभिएका छन् । यसका कारण कांग्रेस सभापति देउवाले डडेल्धुरामा क्रियाशील सदस्यता वितरणमा प्रत्यक्ष हस्तक्षेप मात्र गरेनन्, एक पक्षीय रूपमा वडा र पालिका अधिवेशनसमेत गरेका छन् ।

सामान्य स्थितिमा देउवाले गृह जिल्लामा यति ठूलो हस्तक्षेप गर्ने अवस्था आउँदैन । यसले पनि सुदूरपश्चिममा कांग्रेस नेता पौडेलले आफ्नो पकड बलियो बनाएको भनेर बुझ्न जोकोहीलाई सहज भएको छ ।

बैतडीमा पनि देउवा र पौडेलको प्रतिस्पर्धा देखिन्छ । वडा तहबाट एक हजार ४५० प्रतिनिधि चयन भएकामा देउवा र पौडेल खेमाले आआफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् । देउवा खेमाले ७० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा पौडेल खेमाले ६० प्रतिशतको दाबी गरिरहेको छ । बैतडीका १० वटामध्ये छवटा स्थानीय तहमा देउवा र चारवटा स्थानीय तहमा पौडेल खेमाका उम्मेदवार विजयी भएका छन् ।

जिल्ला अधिवेशनमा पनि बैतडीमा देउवा र पौडेल खेमाबीच प्रतिस्पर्धा कडा हुने देखिन्छ । देउवा खेमाबाट सभापतिका उम्मेदवार बनेका शिवराज भट्ट कांग्रेस प्रजातान्त्रिक हुँदै नेपाली कांग्रेसका सभापति भइसेका व्यक्ति हुन् । यसैगरी पौडेल खेमाहबाट चतुरबहादुर चन्दले सभापतिमा उम्मेदवारी दिएका छन् । क्रिकेट संघका अध्यक्षसमेत रहेका उनी युवामाझ बढी घुलमिल भएका व्यक्ति हुन् ।

नेपाली कांग्रेसका सभापति देउवाको राम्रो पकड रहेको कंचनपुरमा पनि पौडेल खेमाले यस पटक स्थिति सुधारेको छ । कांग्रेसको वडा अधिवेशनमा कंचनपुरमा निर्वाचित हुने प्रतिनिधिको संख्याले पनि जिल्लामा देउवा र पौडेल खेमाबीच टक्कर हुने देखिन्छ ।

आफ्नो सम्बन्ध सुधार गर्नकै लागि कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार कैलाली र कंचनपुर आएका थिए । पौडेल कैलाली र कंचनपुर आउनु एक दिनअघि मात्र सभापति देउवा सुदूरपश्चिमबाट काठमाडौं फर्किएका थिए । यद्यपि, देउवा देशको प्रधानमन्त्रीको हैसियतसहित सुदूरपश्चिममा बाढी–पहिरोले गरेको क्षतिका बारेमा बुझ्न सुदूरपश्चिम आएका थिए । सो क्रममा देउवाले सुदूरपश्चिमस्थित कांग्रेसका नेता तथा कार्यकर्तालाई भेटेका थिए ।

शनिबार आएका वरिष्ठ नेता पौडेलले पनि सुदूरपश्चिममा बाढी(पहिरोबाट भएको क्षति र प्रभावित समुदायको अवस्था बुझ्न कैलाली र कंचनपुर आएको बताएका थिए । तर, बाढी(पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा बढी क्षति पुर्‍याएको छ । पौडेल पहाडी क्षेत्रमा भने गएनन् ।

कैलालीमा क्रियाशील विवादका कारण नेपाली कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । तर, कैलाली क्षेत्र नम्बर ५ का प्रभावशाली नेता संविधानसभा सदस्य पुष्करनाथ ओझामाथि गरिएको कारबाहीका कारण देउवा खेमालाई केही असहज हुने देखिन्छ । ओझाको कारबाही फुकुवाको माग गर्दै लविङ गरेका वरिष्ठ नेता पौडेलले त्यसको फाइदा कैलालीमा लिन सक्नेछन् ।

सुदूरपश्चिममा देउवाको अवस्था बिग्रनुका पछाडि देउवापत्नी आरजू राणा देउवाको भूमिका कारण मानिँदै आएको छ । आरजूले कांग्रेसको तल्लो निकायसम्म नै नेता, कार्यकर्तालाई चिढ्याउने गरी काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । आफूलाई मनपरेका नेता, कार्यकर्तालाई काखी च्यापेर अरूलाई बेवास्ता गर्ने आरजूको शैलीप्रति कांग्रेसका धेरै नेता, कार्यकर्ता रुष्ट बनेका छन् । न्यूजकारखाना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार