संसदीय समितिमा अझै नेकपा कायम रहेको भन्दै एमाले सांसदको आपत्ति

नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा संसदीय समितिमा अझैपनि नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै आपत्ति जनाएका छन् । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको आआफ्नै प्रतिनिधित्व गराउन एमालेले माग गरेको हो ।

प्रनितिधिसभाको बिहीबारको बैठकको शुरुमै एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा अहिले पनि एमाले सांसदहरु नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको बताए । ‘नेकपा एमाले संसदीय समितिमा एमाले भएर बस्न चाहान्छ,’ अधिकारीले भने, ‘सहमति भनेको सत्ता पक्ष भनेर बाध्य पारेर नेकपा हुनै पर्छ भनेर हुँदैन । संसदको समितिमा एमालेको प्रतिनिधित्व त्यही अनुसार हुन जरुरी छ ।’

सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना तथा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाए ।

सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा यसबारे छलफल गरेको सोहीअनुसार संसदीय समितिहरुमा सांसदहरुको प्रतिनिधित्वको व्यवस्था गरिने जानकारी गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार