अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिकाको मासाचुसेट्समा नेपाली स्टोर संचालकको गोली हानी हत्या भएको छ । फल रिभरमा ५४ बर्षीय नेपाली लालकिशोर महासेठमाथि गोली प्रहार भएको हो । जनकपुरका मृतक महासेठ मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे ।

महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।

उनीमाथि गोली प्रहार भएपछि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । सोमबार राती ९ बजेतिर उनीमाथि गोली प्रहार भएको जनाइएको छ ।

उक्त स्टोरमा पहिलेपनि चोरीका प्रयासहरु हुने गरेको र त्यस्ता व्यक्तिलाई लखेट्ने गरिएको जनाइएको छ । अहिलेपनि चोरको प्रतिकार गर्न खोज्दा र रकम दिन नखोज्दा उक्त घटना भएको अनुमान गरिएको छ ।

गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले स्केच समेत सार्वजनिक गरेको छ ।

अपराधीले गाडा रंगको बस्त्र र खैरो रंगको पिठ्युमा भिर्ने झोला सहित खैरो नाइकी स्नीकर्स जुत्ता लगाएको पाइएको छ । साथै उन्क्त व्यक्तिको औंलाको नजिक उनको हातको दाहिने भित्री भाग मा एक ट्याटुसमेत भएको प्रहरीले जानकारी दिएको छन् ।

उक्त स्टोर बेलुका साढे ७ बजेपछि भित्रबाट बन्द गर्ने र कसैले घण्टी बजाएपछिमात्र चिनेको व्यक्तिलाई भित्रबाट खोलिदिने गरिन्थ्यो । महासेठमाथि गोली हान्ने व्यक्ति पनि नौलो मान्छे नभएको अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार