देशभर बाढीपहिरो बितण्डा : १८ जनाको मृत्यु, २९ बेपत्ता

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा १८ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार पहिरामा परेर २९ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा डोटीका ९ जना, बैतडीमा ३ जना, सुनसरीमा २ जना सुर्खेत, उदयपुर,कालिकोट र डडेलधुराका एक÷एक जनाको मृत्यु भएको छ।

त्यस्तै पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ जना, कैलालीमा ३ जना,डोटी, जुम्ला, मनाङ एक–एक जना बेपत्ता भएका छन् । यस्तै अहिलेसम्म कञ्चनपुरलगायत विभिन्न जिल्लाका ५०० जनाको उद्धार गरिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा विद्युत् र फोनसेवासमेत अवरुद्ध भएको छ । भौतिक क्षति धेरै भएको जनाइएको छ ।

महाकाली नदीको खतराको तह सात मिटर रहेकामा झण्डै नौ मिटरमा बगिरहेको जनाइएको छ । मनसुनी वायु प्रणाली बाहिरिएका बेला छुट्टै खालको नयाँ प्रणाली विकास भएर तहसनहस भएको छ । कृषिमा ठूलो असर गरेको प्राधिकरणका प्रमुख पोखरेलले बताए ।

आजको मध्यरातपछि भने पूर्वतर्फ सर्दै आइ गण्डकी, लुम्बिनी हुँदै वाग्मतीका दक्षिणी भेग र मध्य क्षेत्रमासमेत प्रभाव पार्ने देखिएको छ । यस्तै प्रदेश १ को उत्तरी भूभाग तथा प्रदेश २ मा समेत वर्षा हुने भएकाले उच्च सतर्कतामा रहन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार