४ जनाको ज्यान गएको मोतीपुर घटनाका मुख्य अभियुक्त बुटवलबाट पक्राउ

मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली गठन गर्ने समूहका मुख्य व्यक्ति भनिएका राजु आलमका नामबाट परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका ४४ वर्षीय साविर अलीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । । प्रहरीका अनुसार अलीकै अध्यक्षतामा भएका छलफल, बैठक र बैठकका निर्णय पनि बरामद भएका छन् ।

प्रहरीले घटना र मोतीपुर क्षेत्रमा जग्गा कब्जा गर्ने र गर्न उक्साउनेहरुको थप विवरण पनि संकलन गरिरहेको छ । पक्राउ परेका अलीसँगबाट पनि भेला र बैठकमा निर्णय पुस्तिका, निर्णय र प्रहरीसँग प्रतिकार गर्न आवश्यक पर्ने तयारीका विषयमा भएका निर्णय पनि प्रहरीले फेला पारेको छ ।

गत असोज २४ गते बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा भएको झडपमा ४ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी ब्यक्ति घाइते भएका थिए ।

शुद्धोधन गाउँपालिका–५ रूपन्देहीका ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार