सरकारलाई अप्ठेरोमा पार्ने माओवादीकाे तयारी

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ । पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो । माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन् । यी सबै प्रतिनिधिसभा सदस्य हुन् ।

यसअघि माओवादी अध्यक्ष दाहालले रामबहादुर थापालगायत नेताहरूलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए । ओली नेतृत्वको सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने पनि उनले बताएका थिए । यो समाचार आजको नागरिक दैनिकमा विस्तृतमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार